आज पनि विहानैदेखि मान्यजनबाट टीका र जमरा लगाउन जानेहरुको चहलपहल

२०८१ असोज २७ आइतबार १२:२८:०० मा प्रकाशित

काठमाडौँ- आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि निरन्तर चलिरहन्छ । मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन् ।

आज एकादशीको व्रत गर्नाले सबै पाप हरण हुने विषय विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । ‘पापाङ्कुशेति विख्याता सर्वपापहरा परा’ यस   एकादशीमा मानिसले ‘पद्मनाभ’ नाम गरेको लक्ष्मीनारायण भगवान्को पूजा गर्नुपर्ने ती ग्रन्थमा उल्लेख गरिएको छ ।

यो एकादशीको विधिपूर्वक व्रत गर्नाले आमापक्षका दश पिँढी, बाबुपक्षका दश पिँढी अनि आफ्नी पत्नीका र पतिका पक्षका दश पिँढी त्यसपछि विगतका स्त्री र पुरुषलाई उद्धार गरिदिन्छ अर्थात् वैकुण्ठमा बास गराइदिने विशवास पनि गरिन्छ । बाल्यावस्था, युवावस्था र वृद्धावस्थामा यस व्रतलाई लिनाले पापी मनुष्य पनि दुर्गति प्राप्त नगरी सद्गति प्राप्त गर्दछ ।