जितिया पर्वका अवसरमा गैँडाकोटमा बुधबार सार्वजनिक बिदा 

२०८१ असोज ८ मंगलबार १७:३२:०० मा प्रकाशित

गैँडाकोट । जितिया पर्वका अवसरमा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) गैँडाकोट नगरपालिकामा भोली (बुधबार) सार्वजनिक बिदा दिइएको छ । जितिया पर्वका अवसरमा पालिकाभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था र सार्वजनिक संस्थामा बिदा दिइएको गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले जानकारी दिनुभयो । 

२०८० साल चैत्र २० गते बसेको गैँडाकोट नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को तेह्रौ नगर कार्यपालिकाको बैठकले स्थानीय समुदायको आवश्यकता र चाहना अनुसार २०८१ सालभर ५ दिन विदा दिने निर्णय गरेको थियो । असोज ९ गते बुधबार जितिया पर्वका दिन सार्वजनिक विदा दिने बारे गैँडाकोट राजपत्रमा सूचना समेत प्रकाशन गरेको सूचना अधिकारी लिलाधर शर्माले जानकारी दिनुभयो । 

गैँडाकोट लगायत नवलपुरको तराई क्षेत्रमा थारू समुदायको बाहुल्यता रहेको छ । थारू समुदायका महिलाले जितियामा नाचगान गर्दै मिठो–मसिनो खाएर पर्व मनाउने गर्दछन् । जितियामा खास गरी महिलाहरू झाम्टा नृत्य गर्ने गर्दछन् ।