निरन्तर अध्ययनले मानिसको क्षमता वृद्धि हुन्छ : जीवा लामिछाने,

पठन संस्कृति अभियानको छैटौँ शृङ्खला सम्पन्न

२०८१ भदौ २९ शनिबार १७:१४:०० मा प्रकाशित

गैँडाकोट । एनआरएनका संरक्षक जीवा लामिछानेले निरन्तर अध्ययनले मानिसको सोच्ने क्षमता र चिन्तन गर्ने शक्ति र विश्लेषण गर्ने क्षमता वृद्धि हुने बताउनुभएको छ । गैँडाकोटमा भएको पठन संस्कृति अभियानको छैटौँ शृङ्खला कार्यक्रमका प्रमुख अतिथि लामिछानेले पढेर जीवन परिवर्तन हुनुभन्दा पनि क्षमता अभिवृद्धि हुने बताउनुभयो । 

विजय विकास स्रोत केन्द्रको चेतना सदनमा भएको कार्यक्रममा एनआरएनका संरक्षक लामिछानेले वीपी कोइरालाका पुस्तक प्रेरणादायी रहेको समेत बताउनुभयो । गैर आवासीय नेपाली संगठनका संस्थापक सदस्य समेत रहनुभएका लामिछाने अध्ययनले इन्जिनियर, पेशाले व्यवसायी र रूचीले साहित्यकार तथा समाजसेवी हुनुहुन्छ । लामिछाने चितवन जिल्लाको साविक पदमपुर गाविसमा जन्मनुभएका हो । विश्वका विभिन्न स्थानहरूमा घुम्न रूची राख्ने उहाँको ‘सरसर्ती संसार’ र ‘देश देशावर’ नामक यात्रा संस्मरण प्रकाशित छन् । उहाँको यो कृतिले पाठकलाई विश्वको धेरै भूभागको भ्रमण गराउँछ । 

कार्यक्रममा राजनीतिज्ञ गुरुराज घिमिरेले पठन संस्कृति अभियानको सफलताको शुभकामना व्यक्त गर्दै यसले पठनकार्यमा सबैलाई डोराउने र सकरात्मक चिन्तनको विकास गराउने बताउनुभयो । 

कार्यक्रममा कृषि तथा वन विश्वविद्यालयबाट ‘सर्भिस क्वालिटी एन्ड मेम्बर सटिस्फ्याक्सन अफ साकोस इन नेपाल’ विषयमा विद्यावारिधि गर्नुभएका विजय एफएमका संस्थापक सचिव, सहकारी अभियन्ता, सामाजिक एवम् राजनैतिक व्यक्तित्व डा. केशवप्रसाद सापकोटालाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै डा. केशवप्रसाद सापकोटाले नुहाउने तरिका र हस्ताक्षरबारे अध्ययन गरिरहेको बताउनुभयो । 

त्यस्तै पठन संस्कृति अभियानको छैटौँ शृङ्खला कार्यक्रममा सुभाष घिमिरेले नेपालीबाट अंग्रेजी भाषामा अनुवाद गर्नुभएको ‘वीपी कोइरालाज स्टेटमेन्ट इन कोर्ट’ पुस्तक विमोचन गरिएको थियो । 

कार्यक्रमको सहजिकरण गर्दै विजय एफएमका अध्यक्ष एवं अभियानका संयोजक त्रिलोचन सापकोटाले पठन संस्कृति अभियानलाई पुस्तक विमोचन कार्यक्रमका रुपमा प्रयोग गर्न सकिने बताउनुभयो । सामुदायिक रेडियो विजय एफएम १०१.६ को आयोजनामा भइरहेको कार्यक्रमले समुदायमा पठन संस्कृतिको विकास गराउन मद्दत गरेको विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो । यस अभियानले सकरात्मक सोच र चिन्तनको विकास गराउन मद्दत पु¥याउने सापकोटाको विश्वास रहेको छ । 

पठन संस्कृति अभियानको छैटौँ शृङ्खलामा पनि अघिल्ला शृङ्खलामा जस्तै पाठकहरुले आफूले पढेका पुस्तकमाथि चर्चा परिचर्चा गरेका थिए । आजको कार्यक्रममा उदय अधिकारी, अमृता रसाईली, गोपी सापकोटा, खेमराज खतिवडा, सरस्वती तिमिल्सेना, रामचन्द्र चालिसे, ईन्द्रराज पौडेलले पाठकीय धारणा राख्नुभएको थियो । कार्यक्रममा गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी लगायत पाठकहरुको उपस्थिती रहेको थियो । गत वैशाख १५ गतेबाट पठन संस्कृति अभियान सुरु भएको थियो ।