पठन संस्कृति अभियानको छैटौँ शृङ्खलामा जीवा लामिछाने आउने

२०८१ भदौ २७ बिहीबार १७:३८:०० मा प्रकाशित

गैँडाकोट । पठन संस्कृति अभियानको छैटौँ शृङ्खलामा एनआरएनका संरक्षक जीवा लामिछाने गैँडाकोट आउनुहुने भएको छ । 

भदौ २९ गते शनिबार बिहान ११ बजे विजय विकास स्रोत केन्द्रको चेतना सदनमा हुने कार्यक्रममा एनआरएनका संरक्षक जीवा लामिछानेको प्रमुख आतिथ्यता रहनेछ ।

उहाँ नेपाली उद्यमी एवम् गैर आवासीय नेपाली संगठनको अन्तर्राष्ट्रिय समन्वय परिषदका भूतपूर्व अध्यक्ष समेत हुनुहुन्छ । गैर आवासीय नेपाली संगठनका संस्थापक सदस्य समेत रहनुभएका लामिछाने अध्ययनले इन्जिनियर, पेशाले व्यवसायी र रूचीले साहित्यकार तथा समाजसेवी हुनुहुन्छ । उहाँले सन् २०११ देखि २०१३ सम्म गैरआवासीय नेपाली संघको अध्यक्षको कार्यभार सम्हाल्नुभएको थियो । हाल उहाँ एनआरएनको संरक्षक हुनुहुन्छ ।

लामिछाने चितवन जिल्लाको साविक पदमपुर गाविसमा जन्मनुभएका हो । विश्वका विभिन्न स्थानहरूमा घुम्न रूची राख्ने उहाँको ‘सरसर्ती संसार’ र ‘देश देशावर’ नामक यात्रा संस्मरण प्रकाशित छ । वि.सं. २०३७ सालमा नेपाल माध्यामिक विद्यालय, रत्ननगर नगरपालिका, चितवनको वार्षिक मुखपत्र ‘नेपाल ज्योति’मा निबन्ध प्रकाशित गरेर साहित्यको गोरेटोमा पाइला राख्नुभएका उहाँका फुटकर साहित्य सिर्जनाहरू विभिन्न पत्रपत्रिका तथा अनलाइनहरूमा प्रकाशित छन् । उहाँ नेपाल सरकारबाट सन् २०१३ मा प्रवल जन–सेवाश्री पदकबाट विभूषित समेत हुनुभएको थियो ।

नेपालका ५० जिल्लाभन्दा बढी तथा विश्वका पाँचै महादेशका १०० भन्दा बढी मुलुक घुमिसक्नुभएका उहाँको यो कृतिले पाठकलाई विश्वको धेरै भूभागको भ्रमण गराउँछ । 

सामुदायिक रेडियो विजय एफएम १०१.६ को आयोजनामा भइरहेको कार्यक्रमले समुदायमा पठन संस्कृतिको विकास गराउन मद्धत गरेको विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो । यस अभियानले सकरात्मक सोच र चिन्तनको विकास गराउन मद्दत पु¥याउने सापकोटाको विश्वास रहेको छ । 

पठन संस्कृति अभियानको छैटौँ शृङखलामा पनि अघिल्ला शृङ्खलामा जस्तै पाठकहरुले आफूले पढेका पुस्तकमाथि चर्चा परिचर्चा गर्ने कार्यक्रम रहेको विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले जानकारी दिनुभयो । गत वैशाख १५ गतेबाट पठन संस्कृति अभियान सुरु भएको थियो ।