पर्साढाप आँप बगैंचामा रमाइलो तीज मेला हुने,महिला भलिबल प्रतियोगिता भोलिदेखि
चितवन । चितवनको भरतपुर २७ स्थित पर्साढाप आँप बगैंचा पार्कमा तीज विशेष मेला हुने भएको छ । मेघौली पर्यटन विकास समिति भरतपुर २७ को आयोजनामा बृहत तीज विशेष मेला लाग्ने भएको छ।
यही आउँदो भदौ २१ गते हरितालिका तीजका दिन तीज विशेष मेला आयोजना गरिएको मेघौली पर्यटन विकास समितिका सचिव तीर्थराज सापकोटाले बताउनुभयो ।
उहाँले मौलिक कला संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि मेला गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार भाद्र १९ गतेबाट खुल्ला महिला भलिबल प्रतियोगिता हुनेछ । विद्यालय स्तरीय हुन लागेको प्रतियोगिता पर्साढाप आँप बगैंचामा हुनेछ ।
मेघौली पर्यटन विकास समितिका अध्यक्ष राजु भुसालले मेघौली क्षेत्रकै दुई महिला खेलाडीहरु आरती सुवेदी र संगम महत्तोले काभा महिला भलिबलमा उत्कृष्ठ प्रदर्शन गरेको स्मरण गर्दै महिला भलिबलका लागि मेघौली स्वर्णभूमि भएको बताउनुभयो । उहाँका अनुसार भलिबल खेलका विजेताहरुलाई तीज विशेष मेलामा पुरस्कार प्रदान गरिनेछ।
शुक्रबार हरितालिका तीजका दिन हुने रमाइलो मेलामा बृहत तीज गीत प्रतियोगिता हुनेछ । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्तवना हुनेहरूलाई क्रमशः ११,१११ नगद ,८,८८८ रुपैया नगद ,५,५५५ रुपैयाँ नगद र ३,३३३ रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै मेलामा लाखे नाच, महिलादिदिबहिनीहरुका लागि म्यूजिकल चिएर, छेलो खेल र खुल्ला नृत्य प्रतियोगिता हुनेछ ।