जनक नमुना माध्यमिक विद्यालयको पुरानो माध्यामिक भवनमा मंगलबार देखि कक्षा १ देखि ५ सम्मका कक्षाहरू शुभारंभ
गैंडाकोट। जनक नमुना माध्यमिक विद्यालयको पुरानो माध्यामिक भवनमा मंगलबार देखि कक्षा १ देखि ५ सम्मका कक्षाहरू एक कार्यक्रमका बीच शुभारंभ गरेको छ। जनक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति र सरस्वती प्राथमिक विद्यालयको आम भेलाबाट गठित समायोजन कार्यदलको संयुक्त बैठकले सरस्वती आधारभूत विद्यालयको सम्पूर्ण शैक्षिक क्रियाकलाप हेर्ने गरी जनक नमुना माध्यमिक विद्यालय गैंडाकोट ५ मा समायोजन गरिएको थियो। हाल भइरहेको सरस्वती आधारभूत विद्यालयको भवनमा पूर्व प्राथमिक तह सञ्चालन यथावत रहनेगरी श्रावण १५ गतेबाट जनक नमुना माध्यमिक विद्यालयले जनक माविको पुरानो भवनमा कक्षा १ देखि ५ सम्मका कक्षाहरू शुभारंभ गरेको हो ।
जनक नमूना माध्यामिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष विष्णु प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरस्वती आधारभूत विद्यालयका बिद्यालय समायोजन समितिका संयोजक खडानन्द गौतम लगायत विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक संघका सदस्यहरुको उपस्थिति रहेको थियो। कार्य क्रममा बोल्दै सरस्वती आधारभूत विद्यालयका बिद्यालय समायोजन समितिका संयोजक खडानन्द गौतमले जिल्लाकै जेठो र पुरानो बिद्यालय तथा शैक्षिक गणस्तरमा पनि अब्बल रहेकोले यस विद्यालयमा समायोजन हुँदा बालबालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि हुनेछ भन्ने कुरामा विश्वस्त रहेको बताउनु भयो।
यसै गरी कार्यक्रममा जनक नमूना माध्यामिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष विष्णु प्रसाद सापकोटाले पूर्वपश्चिम राजमार्ग निर्माणको क्रममा रहेको र सडक निर्माण पछि साना विद्यार्थीहरुलाई वारपार गर्न कठिन हुने हुँदा सडक वारपार गर्न विद्यार्थीलाई असहज हुने भएकाले बाटोे मुनिका विद्यार्थीहरू जनकको पुरानो मावि भवनमा र बाटो माथिका विद्यार्थीहरू झपर्दीमा रहेको सोही विद्यालयमा पठनपाठनको व्यवस्था गरिएको बताउनुभयो ।
विद्यार्थि हरुलाई आविर लगाई स्वागत गरीएको कार्यक्रममा शिक्षक अभिभावक संघका सदस्य लीलाधर कंडेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने बिद्यालयका प्रधानाध्यापक चूडामणि शर्माले कार्यक्रम संचालन गर्नुभएको थियो ।
जनक नमुना माध्यमिक विद्यालयले शिक्षण पद्धति परिवर्तन गर्दै सुधारको अभियानमा अघि बढेको विद्यालयले निरन्तर विद्यार्थी मूल्याङ्कन विधिलाई प्राथमिकतामा राख्दै शिक्षण प्रक्रिया अघि बढाउने योजना बनाउनुका साथै विद्यालयले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि नृत्यकक्षा, संगीत कक्षा, खेलकुद कक्षा, सिकाइलाई व्यवहारमा उतार्न विद्यालय परिसरमा फूल खेती, मकै खेती, मौरीपालन जस्ता उद्यमशील शिक्षा पनि सँगसँगै प्रदान गर्दै आएको छ।
२ हजार भन्दा बढी विद्यार्थी नियमित पठनपाठन गराउँदै आएको जनक नमुना माध्यमिक विद्यालयले नियमित अभिभावक शिक्षा, घरदैलो कार्यक्रम गरि अभिभावकसँग नजिक रहेर योजना निर्माण गर्ने गरेको प्रधानाध्यापक शर्माले बताउनुभयो ।