भरतपुर अस्पतालमा अब दैनिक दुई सय ५० जनाले मात्रै टिकट पाउने

२०८१ श्रावण १५ मंगलबार ०६:१८:०० मा प्रकाशित


भरतपुर । चितवनकोे भरतपुर अस्पतालमा अर्थोपेडिक विभागमा सोमबारबाट दुई सय ५० जनाले मात्रै बहिरङ्ग सेवामा टिकट काट्न पाउने भएका छन् । सोभन्दा बढी सेवाग्राहीले टिकट नपाउने अवस्था रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा कृष्णप्रसाद पौडेलले सोमबार बिहान मातहतका कर्मचारीलाई दुई सय ५० भन्दा बढीको टिकट नकाट्न निर्देशन दिनुभएको छ । टिकट काटेका एक सयभन्दा बढी बिरामी उपचार नलिई फर्किनु परेपछि क्षमताअनुसार मात्रै टिकट उपलब्ध गराउन निर्देशन दिनुभएको अस्पताल स्रोतले जनाएको छ । स्वास्थ्य बीमाको नियमअनुसार टिकट काटेको दिनमा मात्रै उक्त टिकटबाट सेवा लिन सकिन्छ । 
सरकारी भरतपुर अस्पतालमा यो समस्या अर्थोपेडिकसँगै मेडिकल, सर्जिकललगायत विभागमा छन् । मेडिसिन विभागमा मात्रै दैनिक पाँच सयभन्दा बढी बिरामी आउने बताउँदै डा पौडेलले कतिपयले टिकट काट्नै नपाउने अवस्था रहेको उल्लेख गर्नुभयो । अहिले अस्पतालमा बिहान ९ः३० बजेदेखि ३ बजेसम्म बहिरङ्ग सेवा सञ्चालन हुँदै आएकामा मंगलबारदेखि बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सेवा सञ्चालन गरिने पौडेलले जानकारी दिनुभयो ।