जसले पहिचान दियो, ओझेलमा गैँडाकोट २ मा रहेको ऐतिहासिक शिलान्यास स्तम्भ

२०८१ श्रावण १० बिहीबार १०:५०:०० मा प्रकाशित

गैँडाकोट । ६२ वर्षअघि पूर्वपश्चिम राजमार्गको शिलान्यास भएको स्थान गैँडाकोट २ मा रहेको शिलान्यास स्तम्भ ओझेलमा परेको छ । 

हालको राजमार्ग नारायणी नदी पुल नजिक गैँडाकोट २ पुलचोकबाट करिब ३ सय मिटर उत्तरतर्फ शिलान्यास स्तम्भ रहेको छ । राजमार्गदेखी केही भित्र पर्ने भएका कारण पूर्व पश्चिम राजमार्ग भइ यात्रा गर्नेहरुले यो स्तम्भ देख्न सक्दैनन् । यो प्रसिद्ध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल मौलाकालिका मन्दिर जाने मार्गमा पर्छ । 

”समृद्धिका लागि चाहना राख्ने तर सम्भावना बोकेका स्थलहरुको संरक्षण एवं प्रवर्धनमा योजना र बजेट नराख्ने परिपाटिले सम्भावित क्षेत्रहरु ओझेलमा छन् ।

कुनै बेला महेन्द्र राजमार्गको नामले परिचित रहेको राजमार्गको आधिकारिक नाम भने पूर्व पश्चिम राजमार्ग हो । पूर्वमेची र पश्चिम महाकालीको मध्यभाग समेत यसै नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा पर्छ । पूर्व पश्चिम राजमार्गको शिलान्यास आजभन्दा ६२ वर्षअघि नयाँ वर्षको सन्दर्भ पारेर वि.सं. २०१९ वैशाख १ गते भएको थियो । तत्कालिन राजा महेन्द्र वीर विक्रम शाहले पूर्वपश्चिम राजमार्गको शिलान्यास गरेका हुन् । राजा महेन्द्रले शिलान्यास गरेकै कारण पनि पछि यस मार्गको नाम महेन्द्र राजमार्गको नामले परिचित बनेको हो । सोही राजमार्ग शिलान्यास भएको स्थल पछि शिलान्यास चोक नाम रहन गएको हो ।  

नेपालको पूर्व र पश्चिम जोड्ने एकमात्र यस राजमार्गको शिलान्यास भएको स्थलको बारेमा प्रचार गर्न नसक्दापनि छायामा परेको छ । स्तम्भ संरक्षणका लागि छेकबार लगाइएपनि यसको महŒव अनुसार प्रचार प्रसार र ब्यवस्थापन हुन नसक्दा ओझेलमा परेको स्थानीय बताउँछन् । शिलान्यास चोकमा रहेको शिलान्यास स्तम्भलाई पर्यटकीय स्थल बनाउन सके पर्यटन प्रवर्धनको एउटा आधार बढ्ने स्थानीयको भनाइ छ ।  

ऐतिहासिक महŒव बोकेको शिलान्यास गरिएको स्तम्भको प्रचार र प्रवर्धन गर्न सके पर्यटनमा टेवा पुग्ने स्थानीय शिव लम्सालको बुझाइ छ । उहाँ भन्नुहुन्छ, “ यसको महŒव अनुसार त्यति ब्यवस्थित देखिन्न । यहाँ आउनेसम्म वातावरण तय गर्न सकेमात्र पनि गैँडाकोटको थप पहिचान हुने थियो ।” उनले थपे, “प्रचार प्रसार कम भएको हो की भन्ने लाग्छ ।” 

पूर्वमा काँकडभिट्टादेखि सुरु भै पश्चिममा महेन्द्रनगरसम्म फैलिएको राजमार्गको लम्बाई १ हजार २४ किलोमिटर रहेको छ । ऐतिहासिक गरिमा बोकेको शिलान्यास चोक स्थललाई पर्यटकीय स्थल बनाउन आवश्यक भएको स्थानीय गिता रिमाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “शिरमा माता मौलाकालिका छिन् धेरै जना त्यहाँ पुग्छन् तर यो बाटो हिँडनेलाई पनि थाहा छैन । यसको पहिचानका लागि पनि स्थानीय सरकारले भूमिका निर्वाह गर्नुपर्छ ।”

जुन स्तम्भले ठाउँको चिनारी बनायो, उही स्तम्भको संरक्षण र प्रवर्धनमा स्थानीय सरकारले ध्यान दिनुपर्ने देखिन्छ । स्थानीय सागर भण्डारी सापकोटा भन्नुहुन्छ, “मौलाकालिका मन्दिर, मौलाकाली केबलकार हेर्न र घुम्न यहाँ धार्मिक पर्यटक आउने गरेपनि उनीहरुको नजर यहाँ पर्दैन, यसको महत्त्व झल्कने गरी ब्यवस्थित गर्नुपर्छ ।”

स्थानीय नेहा थापाले स्तम्भ रहेको स्थानलाई आकर्षक पार्क बनाउन सके पर्यटकीय स्थल हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्कमा बार लगाइएको छ तर सरसफाई छैन, त्यतिमात्र होइन यहाँको स्थान फराकिलो गराउने, पार्क ब्यवस्थित बनाउने, चिनारी हुने संकेत बोर्डहरु राख्ने कुरामा स्थानीयको तदारुकता अति जरुरी छ ।” 

समग्र नगरको गौरवको विषय भएपनि यसको अगुवाई वडाले गरोस् भन्ने स्थानीय चाहन्छन् । जनप्रतिनिधिहरुले समेत बेवास्ता गरेको स्थानीयको बुझाई छ । यसका लागि नगर तथा वडाले कुनै पहल नगरेको स्थानीयको भनाइ छ । 

स्तम्भ रहेको स्थान गैँडाकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष प्रकाश सापकोटाले स्तम्भको संरक्षण र प्रवर्धनका लागि आफूहरुले पनि योजनागत रुपमा काम अघि बढाउन खोजेको बताउनुभएको छ । 

गैँडाकोट नगरभित्र पर्यटनको प्रवर्धनका लागि ऐतिहासिक तथा प्राकृतिक स्थलहरु छन् । समृद्धिका लागि चाहना राख्ने तर सम्भावना बोकेका स्थलहरुको संरक्षण र प्रवर्धनमा योजना र बजेट नराख्ने परिपाटिले सम्भावित क्षेत्रहरु हराउँदै गएका छन् । यस्ता क्षेत्रका प्रवर्धनका लागि स्थानीय सरकार संवेदनशील बन्न जरुरी छ ।