सौर्य एयरलाइन्सको जहाज दुर्घटना, ४ जनाको शव निकाले, उद्धार कार्य जारी 

२०८१ श्रावण ९ बुधबार १२:१४:०० मा प्रकाशित

काठमाडाैं। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ ।

बुधवार प्राविधिक मर्मतसम्भारका लागि काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्स एन-एएमई/सिआरजे२०० विमान रनवे ०२ बाट उडान भर्ने क्रममा रनवे २० को पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो । 

काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एन एएमई जहाजमा सवारमध्ये ४ जनाको शव निकालिएको छ । दुर्घटनास्थलबाट उद्धारकर्ताहरुले ४ जनाको शव निकालेका हुन् भने केहीलाई उद्धार गरेर अस्पताल लगिएको छ ।

नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जहाज पोखराका लागि उडेको जानकारी दिए ।  उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको अधिकारीहरुले बताएका छन् । 

जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने केही नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । 

थप विवरण आउन बाँकी रहेको र अहिले उद्धार कार्य जारी रहेको बताइएको छ । 

सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । आन्तरिक जहाजहरुलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ भने अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिएको छ ।