महिला जनप्रतिनिधिले भने “ तालिमले प्रश्न गर्न र धेरै कुरा सिक्न प्रेरणा दिएको छ ।” 

२०८१ असार १९ बुधबार १९:१०:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोटका महिला जनप्रतिनिधिले अभिमुखीकरण कार्यक्रम फलदायी भएको बताएका छन् । सोमबारबाट सुरु भएको क्षमता विकासको तालिममा नेतृत्व विकास, उद्घोषण, स्थानीय ऐन र महिला अधिकारका सन्दर्भमा विभिन्न जानकारी प्राप्त भएको र व्यवहार उपयोगी रहेको बताएका छन् ।

गैँडाकोट नगरपालिकाको आयोजना र विजय एफएम १०१.६ को संयोजनमा भएको अभिमुखीकरण कार्यक्रमको बुधबार समापन गरिएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिका नगरप्रमुख मदनभक्त अधिकारीले महिला दिदिबहिनीहरुको प्रश्न गर्ने क्षमता विकास भएको बताउनुभएको छ । 


कार्यक्रमका अध्यक्ष न्यायिक समिति संयोजक एवं गँैडाकोट उपप्रमुख शान्ति कोइरालाले महिलाहरूले नै सामाजिक रुपान्तरणमा भूमिका खेल्न सक्ने भएकाले महिला जनप्रतिनिधिका लागि क्षमता विकासको कार्यक्रम आवश्यक रहेको बताउनुभयो । आगामी दिनमा पनि क्षमता विकासका कार्यक्रम गरिने नगरउपप्रमुख कोइरालाले बताउनुभयो ।

 
सहभागिको तर्फबाट गैँडाकोट नगरकार्यपालिका सदस्य शान्ति न्यौपाने, उर्मिला विक र वडा सदस्य निर्मला सुनारले कार्यक्रमले महिला अधिकार, कानुन, नेतृत्व सीपका विषयमा जानकारी दिनुका साथै जानेको कुरा अरुका माझ राख्न र प्रश्न गर्न प्रेरणा दिएको बताएका छन् । तीन दिनसम्म सञ्चालन भएको अभिमुखीकरण कार्यक्रममा खेमराज सापकोटा, कृष्णप्रसाद पन्त, केशवप्रसाद सापकोटा, त्रिलोचन सापकोटा, श्रीधर उपाध्याय र प्रेमबहादुर क्षेत्रीले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।