प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्रीको सपथ समारोहमा सरिक

२०८१ जेठ २८ सोमबार ०५:५६:०० मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुनुभएको छ ।

प्रधानमन्त्री  प्रचण्ड भारतीय राष्ट्रपति भवनको प्राङ्गणमा शनिबार साँझ आयोजित विशेष समारोहमा सहभागी हुनुभएको  हो ।

प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति द्रोपदी मुर्मुले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । 

सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री प्रचण्ड, श्रीलङ्काका राष्ट्रपति रणील विक्रमासिङ्गे, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुग्नौथलगायत विशिष्ट अतिथि उपस्थित हुनुहुन्थ्यो ।

यसैगरी समारोहमा भारतका विभिन्न राजनीतिक दलका नेता तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता थियो । सोही समारोहमा भारतका नवनियुक्त मन्त्रीहरुले समेत पद तथा गोपनीयताको सपथ लिनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्ड सपथ ग्रहण समारोहमा सहभागी हुन शनिबार दिउँसो नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डका साथमा उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि हुनुहुन्छ । प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्कनुहुने कार्यक्रम छ ।