महिनावारी भएको बेला महिला ट्राफिक प्रहरीले ४ दिन सडकमा 'ड्युटी' गर्नु पर्दैन : गृहमन्त्री

२०८१ जेठ १५ मंगलबार १२:५२:०० मा प्रकाशित

काठमाण्डौ – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको बेला महिला ट्राफिक प्रहरीले चार दिन सडकमा ड्युटी गर्नु नपर्ने व्यवस्था मिलाएको जानकारी दिनुभएको छ । गणतन्त्र दिवसको अवसरमा सानो प्रयास भन्दै उहाँले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिनुभएको हो ।

महिनावारी हुँदा सडकमा महिला ट्राफिक नखटिने बरु यसको साटो जाँड–रक्सी खाएर ट्राफिक नियम उल्लङ्घन गर्नेहरूले स्वयंसेवकको रूपमा सडकमा सघाउने भएका छन् । गृहमन्त्री लामिछानेले लेख्नुभएको छ, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका चार दिन सडकमा ड्युटी गर्नु पर्दैन, मापसेलगायत ट्राफिक नियमको उल्लङ्घन गर्नेहरूले स्वयंसेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ ।’