गैंडाकोट प्रज्ञा पुरस्कारबाट मतिप्रसाद सम्मानित

२०८१ बैशाख ३० आइतबार १७:३५:०० मा प्रकाशित


नवलपुर। गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानले लेखक डाक्टर मतिप्रसाद ढकाललाई सम्मान गरेको छ ।

भाषा–साहित्य, कला, संगीत, संस्कृति र प्रविधि मध्य कुनै क्षेत्रमा उच्च योगदान गर्ने एक जना विशिष्ट प्रतिभालाई वर्सेनि प्रदान गरिने गैंडाकोट नगर प्रज्ञा पुरस्कार २०८० बाट गैंडाकोट नगरपालिका– १ निवासी भाषा–साहित्यका अथक साधक तथा अनुसन्धाता डा. मतिप्रसाद ढकाललाई समर्पण गरिएको हो ।

आइतबार गैंडाकोट नगरपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरी डाक्टर ढकाललाई पुरस्कार दिइएको हो ।

नगर प्रमुख एवम् कुलपति मदनभक्त अधिकारी, उपकुलपति गोविन्दराज विनोदी र वरिष्ठ साहित्यकार चूडामणि बन्धुले डाक्टर ढकाललाई टीका, दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान गर्नुभएको हो। पुरस्कारको राशि ५० हजार रुपैयाँ छ ।
कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले भाषा साहित्यका साधक ढकाललाई गैंडाकोट प्रज्ञा पुरस्कारबाट पुरस्कृत गर्न पाउँदा खुसी लागेको बताउनुभयो । सम्मानित स्रस्टा ढकालले यो पुरस्कारले आफूलाई थप जिम्मेवारी बोध भएको बताउँदै आफूले गरिरहेको काममा अझै मेहनत गर्ने बताउनुभयो।

कार्यक्रममा संगीत विभाग प्रमुख अमरविरही गुरुङले स्वागत मन्तव्य राख्दै एउटा लोकगीत पनि प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमलाई सदस्य सचिव भीम शर्माले सहजीकरण गर्नुभएको थियो ।