एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै

२०८१ बैशाख ७ शुक्रबार ०६:५३:०० मा प्रकाशित

ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार चिर प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्दैछ । नेपाल र यूएईबिचको पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल पनि शुक्रबार नै आयोजक ओमान र हङ्कङबिच खेलिने छ । सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच आइतबार फाइनल खेल खेलिने छ । त्यसअघि सेमिफाइनलमा पराजित हुने दुई टोलीबिच शनिबार तेस्रो स्थानका लागि खेल हुनेछ । 

नेपालका लागि यूएई पुरानो प्रतिद्वन्द्वी हो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित एसीसी प्रिमियर कपको पहिलो संस्करणको फाइनलमा पनि नेपाली टोलीले यूएईलाई नै सात विकेटले हराउँदै उपाधि चुमेको थियो । त्यतिबेला फाइनलमा यूएईलाई हराउँदै नेपाल एसिया कपमा पनि छनोट भएको थियो । प्रिमियर कपको त्यो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो ।