निर्माण गर्ने ठेकेदार कम्पनीको खोजीमा देवचुलीको आपँचौर खानेपानी उपभोक्ता 

ठेकेदारले काम नगर्दा खानेपानी योजना अलपत्र

२०८० चैत १६ शुक्रबार १८:४३:०० मा प्रकाशित

देवचुली । देवचुली नगरपालिका –१६ स्थित आँपचौर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपभोक्ताले पत्रकार सम्मेलन नै गरेर निर्माण गर्ने ठेकेदार कम्पनीको खोजी गरेका छन् । 

संस्थो परिसरमा शुक्रबार संस्थाका अध्यक्ष धनबहादुर क्षेत्रीले पत्रकारलाई खानेपानी आयोजना अलपत्र पारेर सम्पर्क बिहिन भएको भन्दै खोजी गरिदिन आग्रह गर्नुभयो । 
गैँडाकोट युवा क्लबको अगुवाईमा २०५७ सालमा देवचुलीमा खानेपानी संस्था स्थापना गरी खानेपानी वितरण गर्दै आएको थियो । पछि थप व्यवस्थित गर्न थप आयोजना अघि बढाइएकोमा ठेकेदारले काम नगर्दा खानेपानी योजना अलपत्र परेको भन्दै पत्रकार सम्मेलन गरेका हुन् । 

उनीहरुले आयोजना स्थलमा ‘निर्माण गर्ने ठेकेदार कम्पनीको खोजीमा.....?’ लेखेको ब्यानर नै टाँगेका छन् ।  

देवचुली–१६ स्थित आँपचौर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको खानेपानी योजना निर्माणको जिम्मा पाएको प्रकृति/कश्यप/समीर/जेभी/कन्स्ट्रक्सनले काम नगरिदिँदा समस्या भएको संस्थाका अध्यक्ष धनबहादुर क्षेत्रीले बताउनुभयो ।

बहुवर्षीय योजनाको रुपमा रहेको योजनाको कुल लागत ३ करोड ९६ लाख रहेको छ । ४० प्रतिशत काम सकिएको यो योजनामा दुई वर्षदेखि काम ठप्प रहेको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७६/७७ मा सुरु भएको योजनाको अन्तिम म्याद आउदो असार मसान्तसम्म रहेको छ । म्याद सकिन लाग्दा समेत निर्माण कम्पनीले काम सुरु नगरी सम्पर्क बिहिन हँुदा आफुहरु समस्यामा परेको अध्यक्ष क्षेत्रीले बताउनुभयो । 

चालू आर्थिक वर्षका लागि ३० लाख विनियोजन गरिएको र यति लागतमा काम अघि बढे गाउँमा खानेपानी वितरण गर्न सकिने उहाँले बताउनुभयो । 

यहाँ करिब ४० प्रतिशत काम भएको जनाइएको छ । खानेपानी टंकी लगायतका निर्माण कार्य अन्तिम चरणमा रहेको छ । मूहानदेखी ट्याङ्कीसम्म खानेपानी ल्याउन सकेमात्रै ठूलो उपलब्धी हुने संस्थाका पदाधिकारीले बताएका छन् । 

पत्रकार सम्मेलनपछि निर्माण पक्षले भने आउँदो सातादेखी काम शुरु गर्ने टेलिफोनमार्फत जानकारी गराएका छन् । कामदार लगायत विविध समस्या रहेकोले काम शुरु गर्न नसकिएकोमा छिट्टै काम शुरु गर्ने जनाएका छन् ।