गृहमन्त्री लामिछानेको जवाफ, ‘मैले सहकारी ठगेको छैन’

२०८० चैत १४ बुधबार १५:३७:०० मा प्रकाशित

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीका विषयमा आफ्नो कुनै संलग्नता नभएको प्रस्टीकरण दिनुभएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा लामिछानेले सहकारीमा आफ्नो नाम जोडिएको तर त्यसलाई पुष्टि गर्ने कुनै तथ्य नरहेको बताउनुभयो । 

सहकारी ठगीमा आफ्नो संलग्नता पुष्टि गर्ने अन्य कुनै तथ्य नरहेको गृहमन्त्री लामिछानेको भनाइ थियो । उहाँले अनुसन्धानमा आफूले प्रभाव नपार्ने पनि बताउनुभयो । कांग्रेस सांसदहरूले सहकारीमा गृहमन्त्री लामिछानेको नाम आएको भन्दै अनुसन्धान हुने बेलासम्म पदबाट हट्न भनेका थिए । जवाफमा लामिछानेले कांग्रेस सरकारमा हुँदा नै उजुरी आएको र तथ्य नभेटिएको स्पष्ट भएकाले आफ्नो प्रभाव अनुसन्धानमा नपर्ने बताउनुभयो ।

‘अदालतमा मुद्दा गएको छ । मुद्दामा म प्रतिवादी छैन, भएका प्रतिवादीको बयानमा रवि लामिछाने भन्ने नाम उल्लेख छैन ।’ उहाँले भन्ुभयो, ‘सहकारीका विषय आएका छन् । एउटा सहकारीमा मेरै नाम भएको भन्ने आयो । जहाँ मेरो नाम छ, त्यहाँ नामबाहेक केही छैन । हस्ताक्षर, ल्याप्चे, केवाईसी केही छैन । न कुनै पत्र पाएको छु, न कुनै मुद्दा आएको छ ।’

प्रहरीकहाँ परेको जाहेरीमा पनि तथ्य नभएको कुरा प्रहरी महानिरीक्षक बसन्त कुँवरले स्पष्ट पारेको उल्लेख गर्दै गृहमन्त्री लामिछानेले आफ्नो संलग्नता नरहेको बताउनुभयो ।