होलीमा नवलपुरमा झगडादेखी ५ दुर्घटना, १०२ सवारी साधन नियन्त्रणमा

२०८० चैत १३ मंगलबार १३:३८:०० मा प्रकाशित

नवलपुर । होलीका दिन नवलपुरमा विभिन्न स्थानमा ५ वटा दुर्घटना भएका छन् । भने लापरवाही र मादक पदार्थ सेवन गरी चलाइएका १०२ सवारी साधन नियन्त्रणमा लिई कारवाही गरिएको छ । अरुणखोलामा भएको झै–झगडामा २ जना घाइते भएका छन् भने ३ जनालाई नियन्त्रणमा लिइएको छ । 

होलीका दिन जिल्लाभर छिटफुट, झैझगडा र दुर्घटना बाहेक ठुलो कुनै पनि अप्रिय घटना नभएको प्रहरी भनाई छ । 

मादक पदार्थ सेवन गरी चलाएका सवारी साधन २ पाङग्रे ४८ वटा र तीन पाङग्रे (अटो) ४ वटा नियन्त्रणमा लिइएका हुन् । त्यस्तै लापरवाहीका साथ चलाइएका २ पाङग्रे सवारी साधन ४२ वटा र ठुला सवारी साधन ८ वटा रहेका छन् ।

होलीका दिन विभिन्न स्थानमा भएका ५ वटा सवारी दुर्घटनामा १० जना घाइते भएका छन् । ती दुर्घटनामा १ जना महिलाको अवस्था गम्भिर, ४ जना बालकको अवस्था मध्यम र ५ जना पुरुषको समेत अवस्था मध्यम रहेको छ । दुर्घटनाका कारण मादक पदार्थ सेवन र लापरवाही रहेको प्रहरी ठहर छ । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलका अनुसार अरुणखोलामा राती ८ बजे भएको २ जना घाइते भएका छन् भने ३ जनालाई नियन्त्रणमा लिइएको छ ।  

मध्यबिन्दु ११ बस्ने वर्ष २३ का कृष्ण बागवल र सोही स्थानका वर्ष २३ का क्षितिज आलेलाई कुटपिट गरेको आरोपमा मध्यबिन्दु १२ बस्ने बर्ष १९ का शिव आले मगर, वर्ष १९ कै यमन दरै र वर्ष २० का अनुप थापा मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उहाँले बताउनुभयो । 

घाईते क्षितिज आले स्थानिय मनकामना पोलक्लिनिक अरुणखोलामा सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् भने कृष्ण बागवलको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।