विद्यार्थीलाई नैतिक शिक्षा सिकाउँदै कन्टिनेन्टल बोर्डिङ

२०८० चैत ८ बिहीबार १७:५१:०० मा प्रकाशित

गैँडाकोट । ‘छ ठूलो चाहना मेरो आमालाई हसाउने, सर्वोच्च शिखरबाट विश्व शान्ति चिनाउने’ बिहीबार गैँडाकोट २ स्थित कन्टिनेन्टल इङ्गलिस बोर्डिङ माध्यमिक विद्यालयका विद्यार्थीले एक स्वरमा भने । 

विद्यालयसँगै जोडिएर रहेको श्रीराम पार्टी प्यालेसमा उपस्थित विद्यार्थीले गीतमा स्वर दिए । त्यतिमात्र होइन उनीहरुले व्यक्तिगत जीवनमा आफ्नो कतव्र्य नभुल्ने वाचा गरे । दिनभर जसो यहाँको महौल छुट्टै थियो । 

दिनहुँ कक्षाकोठामा किताबी ज्ञान र कापीमा लेखनमा जोड दिने विद्यार्थीहरुको ध्यान बिहीबार नैतिक शिक्षामा थियो । विद्यार्थीलाई पाठ्यक्रम अनुरुप नियमितरुपमा शिक्षण गर्नु विद्यालयको कर्तव्य हो । यसको अलवा कन्टिनेन्टल इङ्गलिस बोर्डिङ माध्यमिक विद्यालयले विद्यार्थीलाई नैतिक शिक्षामा समेत जोड दिएको छ । सोही अन्तर्गत बिहीबार गैँडाकोट २ स्थित विद्यालयसँगै जोडिएर रहेको श्रीराम पार्टी प्यालेसमा नैतिक महत्त्वबारे विद्यार्थीलाइ प्रशिक्षण दिएको छ । 

प्रमुख प्रशिक्षक मानव धर्म नेपालका राष्ट्रिय युवा संयोजक उत्तम गिरीलाई बेला–बेलामा गीतमा साथ दिए । नैतिक शिक्षाको महत्त्वबारे उहाँका महत्त्वपूर्ण बाणीहरुलाई आत्मसाथ गर्ने विद्यार्थीले बचन दिए । गिरीले विद्यार्थी भएर गर्नुपर्ने काम कर्तव्य र अधिकारसँगै घर र विद्यालयमा कुन कुन कुरामा सजग हुनुपर्ने भन्ने विषयमा विद्यार्थीहरुलाई सहजिकरण गर्नुभएको थियो । 

कन्टिनेन्टल इङ्गलिस बोर्डिङ माध्यमिक विद्यालयका प्रिन्सिपल विनोद पौडेलले यो ज्ञान विद्यार्थीहरुको भविष्यमा कोशे ढुङ्गाका रुपमा सावित हुने विश्वास व्यक्त गर्नुभयो । व्यावहारिक र नैतिक शिक्षाको अभावमा अनैतिक घटनामा वृद्धि हुने भएकोले विद्यालय सचेत रहँदै व्यावहारिक नैतिक शिक्षामा जोड दिएको उहाँले बताउनुभयो । 

विद्यार्थी काचो माटो जस्तै भएकोले देशको समृद्धिका लागि योग्य नागरिक तयार पार्न शिक्षक, अभिभावक सबैले विद्यार्थीलाई नरम र शिष्ट व्यवहारमा नैतिक शिक्षामा जोड दिनुपर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोमा लम्सालले बताउनुभयो । गत बिहीबार सोही स्थानमा कन्टिनेन्टल इङ्गलिस बोर्डिङ माध्यमिक विद्यालयका अभिभावकलाई अभिमुखिकरण गरिएको थियो ।

उद्घाटन कार्यक्रम विद्यालयका सामाजिक शिक्षक विजय बुढाथोकीले सहजिकरण गर्नुभएको थियो । आजभन्दा ३४ वर्षअघि २०४६ सालमा स्थापित कन्टिनेन्टल इङ्गलिस् बोर्डिङ माध्यमिक विद्यालय गैँडाकोटकै पुरानो र अनुभवी विद्यालयको परिचय बनेको विद्यालय हो ।