रिब्दिकोट गाउँपालिकाको विचित्र अभियान ः जाँडरक्सी खानेलाई खोजिखोजी सम्मान 

२०८० फाल्गुण १९ शनिबार ०६:२२:०० मा प्रकाशित


रुपन्देही । पाल्पाको रिब्दीकोटा गाउँपालिकाले बिहीबार अनौठो कार्यक्रमको आयोजना गरेर चर्चामा आएको छ ।

जाँडरक्सी खाएर होहल्ला गर्नेलाई सबैतिर नराम्रो तरिकाले हेरिन्छ, तर रिब्दीकोट गाउँपालिकामा यसको लतमा बसेकाहरुलाई खोजीखोजी सम्मान गर्न थालिएको छ ।

पालिकाले आफ्नो क्षेत्रमा रहेर यसरी कुलतमा फसेका पुरुष तथा महिलाहरुको लगत संकलन गरेर उनीहरुलाई एकै ठाउँमा जम्मा गरेर सम्मान मात्रै गरेको छैन उनीहरुको भविश्य सुधार्ने योजना समेत बनाएको छ ।

रिब्दीकोट गाउँपालिकाले बिहीबार पालिकाको सभाहलमा जम्मा गरेर नियमित जाँडरक्सी खाने सात महिला र ३३ पुरुषलाई सम्मान गरेको हो । हामीले पालिकाभरका ६५ जना यस्ता व्यक्तिहरुको नामावली तयारी गरेर खबर गरेका थियौं तर सबै समय नमिलेर आउनसक्नुभएन गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले नेपाल प्रेससँग भने ।

कार्यक्रममा सहभागीलाई माला र खादा पहि¥याएर सम्मानसमेत गरियो । त्यसअघि न्यानो र बलियो खालको एकएक जोर ट्रयाकसुटसमेत प्रदान गरिएको थियो । गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले भने, खोजीखोजी ल्याइएका ४० जनालाई सम्मानसहित स्वास्थ्य बिमा, उपचार र प्रशिक्षितसमेत गरेका छौँ ।

विपन्न श्रमिक वर्गको धेरै ठूलो लगानी यसमा गएको छ, कमाएको रकम संरक्षण नहुने मात्रै होइन स्वास्थ्यमा समेत गम्भीर असर पारेको छ, अकालमा धेरैको ज्यान गुमेको छ, यस्तो डरलाग्दो विषयमा केही परिवर्तन ल्याउन यस्तो कार्यक्रमको थालनी गरेका हौं, उनले भने ।

पालिकाले रक्सी छोड्ने युवालाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारीमा प्राथमिकता दिने जनाएको छ । जाड रक्सीमा भुलेका युवालाई श्रम र सिप, आय आर्जनसँग जोड्ने गरी गाउँपालिकाले नीतिगत व्यबस्था गर्ने विषयमा छलफल सुरु भएको पालिकाले जनाएको छ ।