खाजा नलगिदिएको भन्दै मुकुन्दसेनका कर्मचारी कुट्ने अभिभावक पक्राउ

२०८० फाल्गुण ९ बुधबार १४:२७:०० मा प्रकाशित

गैँडाकोट । विद्यार्थीको खाजा नलगिदिएको आरोपमा विद्यालयका एक कर्मचारी कुटिएका छन् ।

गत आइतबार फागुन ६ गते विद्यार्थीका अभिभावक (मामा) विष्णु गौतमले गैँडाकोट ११ स्थित मुकुन्दसेन ईङ्गलिस बोर्डिङ स्कूलका सवारी चालक कमल आचार्यमाथि हातपात गरेका हुन् ।  

उनका भान्जा नियमित बिहान ट्युसन पढ्न विद्यालय जाने गरेका थिए । नियमित रुपमा उनको खाना खाजा विद्यालय बसबाट पुराउने गरेका थिए । प्राय बसले टिफिन नलगिदिएको आरोप अभिभावक पक्षले लगाउँदै आएका छन् । विद्यालय प्रशासनले भने समयमा खाजा तयार नभएका कारण छुट्ने गरेपनि अर्को बसबाट ल्याउने गरेको जनाएको छ । 

बस चालकले टिफिन बक्स नलगिदिएको भन्दै चालकमाथी हातपात गरेको आरोपमा विष्णु गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । चालकको किटानी जाहेरी पश्चात अनुसन्धानका लागि गौतमलाई पक्राउ गरिएको प्रहरी भनाई छ ।    

सवारी चालक आचार्यमाथि बाटोमा र विद्यालयको प्रशासनिक पक्षमा हातपात भएको विद्यालयका प्रिन्सिपल राजेन्द्र पौडेलले बताउनुभयो ।  

गत फागुन ६ गते विद्यार्थीहरु घर पु¥याउन गइरहेको अवस्थामा गाडी रोकेर आफुमाथी हातपात भएको भन्दै बसका चालक कमल आचार्यले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । सोही दिन अपरान्ह साढे ४ बजे विद्यालयको अफिसमा चालकमाथी हातपात गरेको सिसिटिभि फुटेजमा देखिएको छ । 

गौतमले मादक पदार्थ सेवन गरेको आरोप लगाइएपनि मादकपदार्थ सेवन नगरेको पाइएको प्रहरी भनाइ छ । चालक आचार्यको उजुरीका आधारमा गौतमलाई नियन्त्रणमा लिइ म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा बालककी आमा मुना गौतम आलेले भ्यानका चालकले पटक–पटक खाना नलगिदिएकै कारण बाबु भोकै बस्नुपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मेरो बाबु बिहान ५ बजे विद्यालय ट्युसन जान्छ । बाबुले ट्युसन पढ्न थालेको ६ महिना भन्दा बढी भयो । पहिले खाना बसमा पठाउँदा पहिलो पिरियड पढ्न नपाएकोले विद्यालयका शिक्षक शिब सरले भ्यानमा पठाइदिन भनेपछि भ्यानमा पठाउन थालेको थिए । पहिलो दिन खाना लगेन, दोस्रो दिन पनि त्यस्तै भएपछि भ्यानका चालकलाई भन्दा विद्यालय प्रशासनले नभनेकोले बोक्दिन भने । खाना उठाउने मेरो ठेक्का हैन । के गर्छेस भन्ने जस्ता जवाफ दिने र मुख छाड्ने । बच्चामाथी खेलबाड भइरहेको छ । बच्चाले खान नपाउँदा कस्तो हुन्छ ? आमाको मन कस्तो हुन्छ ?  मेरो ११ वर्षको बच्चाले खान खान पाएको छैन । अहिले बाबु विद्यालय जान मानेको छैन ।”