गैँडाकोट मेयर कप क्रिकेटमा गैँडाकोट १६ र गैँडाकोट ४ विजयी 

२०८० माघ २९ सोमबार १७:३४:०० मा प्रकाशित

गैँडाकोट । नव जागरण रंगशालामा जारी तेस्रो (वडा स्तरीय) गैँडाकोट मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सोमबारका खेलमा गैँडाकोट १६ र गैँडाकोट ४ विजयी भएका छन् । 

१६ ओभरमा खेलाइएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गैँडाकोट ५ ले ११.४ ओभरमा सबै विकेट गुमाउँदै १२४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको गैँडाकोट १६ ले १५.४ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य पार गर्दै विजयी भएको हो । 

त्यस्तै अर्को खेलमा पहिले ब्याटिङ गरेको गैँडाकोट ४ ले पुरा २० ओभर खेल्दै ७ विकेटको क्षतिमा २६२ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको गैँडाकोट १५ ले १७.२ ओभरमा अल आउट हुँदै १६४ रन मात्र बनाएपछि गैँडाकोट ४ विजयी भएको आयोजक नवजागरण ग्रामीण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिनुभयो ।

नव जागरण रंगशालामा हुने भोलीको पहिलो खेलमा गैँडाकोट ६ र गैँडाकोट ११ बीच बिहान १० बजेपछि र दोस्रो खेलमा गैँडाकोट १२ र गैँडाकोट ८ बीच १ बजेपछि खेल हुने आयोजक संस्थाका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक विष्णुप्रसाद कँडेलले जानकारी दिनुभयो । 

प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार र द्वितीय पुरस्कार ३१ हजार रुपैयाँ रहेको छ । त्यस्तै म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेष्ट ब्याटसम्यान, बेष्ट बलर, बेष्ट विकेट किपरलाई पुरस्कृत गरिने छ । शनिबारदेखी सुरु भएको प्रतियोगिता फागुन २ गतेसम्म चल्ने छ ।