कन्टिनेन्टल स्कूलमा सिबियन्स सांस्कृतिक समारोह 

२०८० माघ २५ बिहीबार १७:११:०० मा प्रकाशित

गैँडाकोट । कन्टिनेन्टल इङ्गलिस् बोर्डिङ माध्यमिक विद्यालय गैँडाकोटमा सिबियन्स सांस्कृतिक समारोह २०८० सम्पन्न भएको छ । 

विभिन्न जातजातीको वेशभूषामा सजिएर आएका विद्यालयका विद्यार्थीले कला संस्कृतिबारे नृत्य प्रस्तुत गरेका थिए । संस्कृति सम्बन्धि नाटकसँगै विद्यार्थीहरुले फुड स्टल समेत राखेका थिए । फुट स्टलमा विभिन्न जातजातीको झलक दिने मौलिक सांस्कृतिक पर्वहरुमा पाइने परिकारहरु राखेका थिए । 

सिबियन्स संस्कृतिक समारोहमा कक्षागतरुपमा विद्यार्थीहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । समारोहमा उत्कृष्ट कला प्रस्तुत गर्ने विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो । सो अवसरमा यसअघि सञ्चालित वार्षिक सप्ताहव्यापी विविध खेल प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कृत गर्नुका साथै पूर्व शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उप कुलपति गोविन्दराज विनोदीले विद्यार्थीको कला र प्रतिभाले दंग भएको बताउँदै संस्कृतिको संरक्षण र संस्कृति हस्तान्तरणमा यस्ता कार्यक्रम फलदायि हुने विश्वास व्यक्त गर्नुभयो । 

नगर प्याब्सन गैँडाकोटका अध्यक्ष लक्ष्मीप्रसाद दवाडीले विद्यार्थीलाई किताबी ज्ञान मात्र नभएर अतिरिक्त क्रियाकलापमा सरिक गराउँदा उनीहरु आफैले भोगेका कुरा चाँडो सिक्ने बताउनुभयो । 

गैँडाकोट नगर खेलकुद विकास समितिका उपाध्यक्ष एवं गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले कन्टिनेन्टलको विद्यार्थी खेलकुदमा अब्बल रहेको बताउँदै विद्यालयहरुले सञ्चालन गर्ने खेल कार्यक्रमले तन्दुरुस्त राख्नुका साथै खेलको समेत विकास भइरहेको बताउनुभयो । 

कन्टिनेन्टल इङ्गलिस् बोर्डिङ माध्यमिक विद्यालयका प्राचार्य विनोद पौडेलले सिबियन्स संस्कृतिक समारोह विद्यार्थीहरुमा भएको क्षमता प्रदर्शन गर्नुका साथै विद्यार्थीहरुको अन्तर हृदयमा रहेका रुची देखाउने प्लेटफर्म रहेको बताउनुभयो । उहाँले संगीत मात्र नभएर अतिरिक्त क्रियाकलापमा सहभागी विद्यार्थीहरुले सञ्चालन गरेको फुड स्टलबाट स्टल व्यवस्थापन, पाककला, आर्थिक व्यवस्थापन लगायतका विविध पक्षमा व्यावहारिक एवं प्रयोगात्मक ज्ञान प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा स्वागत गर्दै कन्टिनेन्टल इङ्गलिस् बोर्डिङ माध्यमिक विद्यालयका सह प्राचार्य विनय पियाले नेपाली मौलिक तथा संस्कृतिक वेशभूषाको पहिचान होस् भन्ने हेतुले सिबियन्स संस्कृतिक समारोहको आयोजना गरिएको बताउनुभयो । 

कन्टिनेन्टल इङ्गलिस् बोर्डिङ माध्यमिक विद्यालय सञ्चालक समितिका अध्यक्ष दिपक प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक स्व. रुद्रकुमार प्रधानकी धर्मपत्नी एवं सञ्चालक समिति सदस्य निरुलता प्रधान, व्यवस्थापन समिति अध्यक्ष गोमा लम्साल लगायत पूर्व शिक्षक, अभिभावक, शिक्षक विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालयका सामाजिक शिक्षक विजय बुढाथोकीले सहजिकरण गर्नुभएको थियो । 

आजभन्दा ३४ वर्षअघि २०४६ सालमा स्थापित कन्टिनेन्टल इङ्गलिस् बोर्डिङ माध्यमिक विद्यालय गैँडाकोटकै पुरानो र अनुभवी विद्यालयको परिचय बनेको विद्यालय हो ।