पञ्चकोटमा राखिने ३१ फिट अग्लो मौलो सहित गैँडाकोटमा शोभायात्रा 

२०८० माघ १६ मंगलबार १५:२१:०० मा प्रकाशित

गैँडाकोट । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित “अनन्तश्री ब्रह्माण्डीय महायज्ञ” को प्रचार स्वरुप गैँडाकोटमा ३१ फिट अग्लो मौलो सहितको शोभायात्रा गरिएको छ । 

महायज्ञ स्थलमा राखिने ३१ फिट लामो मौलो देशका विभिन्न क्षेत्रमा परिक्रमा गराइदैँछ । मंगलबार गैँडाकोट १ को श्री लक्ष्मी नृसिंह दिव्यधाम, भृकुटी चोक, राधाकृष्ण मन्दिर, गणेश मन्दिर, काँग्रेस चोक, नगरपालिका, कालिका मन्दिर कालिका आश्रम, हरिहर मन्दिर परमानन्द सन्न्यास आश्रम, हनुमान मन्दिर, भेडाबार पञ्चायन मन्दिर, अमरापुरी १६ नम्बर चोक लगायतका क्षेत्र परिक्रमा गराइएको स्वामी लक्ष्मणाचार्यले जानकारी दिनुभयो ।

नगरपालिकाअघि आइपुगेको टोलीलाई सम्बोधन गर्दै गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारीले नगरवासी सम्पूर्णलाई दान गरी पुण्य कमाउन आग्रह गर्दै नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो । 

पवित्र मुक्तिक्षेत्र, शालग्रामवाहिनी कृष्णागण्डकी तट र अन्नपूर्ण, धौलागिरि हिमशृंखलाको काखमा अवस्थित प्रसिद्ध पञ्चकोट धाममा आगामी फागून ९ देखि २३ गतेसम्म महायज्ञ हुनेछ । 

महायज्ञका परिकल्पनाकार एवं पञ्चकोटधामका संस्थापक, मुक्तिनाथ पीठाधीश्वर अनन्त श्री विभूषित श्री कमलनयनाचार्य स्वामिज्यूको सत्संकल्पमा महायज्ञ आयोजना गरिएको हो । स्वामी कमलनयनाचार्यले प्रसिद्ध मुक्तिक्षेत्र र शालग्रामको महिमालाई विश्वस्तरमा पु¥याउन, गोवंशको संरक्षणार्थ वैदिक सनातन हिन्दू समाजलाई प्रेरित गर्न, नेपालको जलसम्पदाको संरक्षण गर्न र वैदिक सनातन हिन्दू धर्मको रक्षा गरी नैतिक, समुन्नत र सच्चरित्रवान् नेपाली समाजको पुनर्जागरण गर्न नेपालमै पहिलोपटक ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको जानकारी दिनुभयो ।

महायज्ञमा २५ फिट अग्लो धान्य मौलो, ९ वर्ष पुगेका नवकन्याहरुको उचाइ बराबर ९ वटा मौलोहरु सहितको नवधान्याचल, सयौँ गुरुहरुबाट ४ वेद १८ पुराण लगायतका पाठ परायण, सवालाख श्रीफल (नरिवल) होम, पञ्चकोट–पञ्चकुण्डात्मक होम, तुला दान, भूमिदान, सवा ५ करोड दीपदान लगायतका कार्यक्रम छन् ।