सूर्यको पूजा आराधना गरी छठ मनाइदै
गैँडाकोट । तराई मधेशमा निकै महत्त्वका साथ मनाइने धार्मिक एवम् आस्थाको पर्व छठको मुख्य दिन देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइदै छ ।
आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।
छठ पर्व मनाउनको लागि देशका विभिन्न ठाउँमा पोखरी तथा घाटहरु सजाएर झकिझकाउ बनाइएको छ । नदी, खोला, पोखरी सिँगारिएका छन् । चितवनमा नारायणगढ स्थित नारायणी नदी किनारसँगै अन्य क्षेत्र पदमपुर, टाँडी, पर्सा बजार, भण्डारा, माडीको बसन्तपूर, नवलपुरमा त्रिवेणी लगायतका ठाँउमा छठको पूजाको चहलपहल बढेको छ ।
काठमाडौको गुहेश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।
तराई मधेशमा उल्लासका साथ मनाइने यो पर्वमा परिवारका सबै सदस्यलाई नयाँ कपडा लाउने र मीठो परिकार खाने गरिन्छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि तराई मधेशमा धुमधामसँग मनाइने छठ पर्व पछिल्ला दिनहरुमा देशैभरि मनाउन थालिएको छ ।