आज छठको दोस्रो दिन खरना गरिँदै

२०८० मङ्सिर २ शनिबार ११:३४:०० मा प्रकाशित

आज छठको दोस्रो दिन खरना गरिँदै छ । आजको दिन बिहानै घर आँगनको सफाइ गरी व्रत गरी बेलुकी सखरमा पकाएको खीर खाइन्छ । आजको दिन ठेकुवा, भुसुवाजस्ता परिकार पनि बनाइन्छ । चार दिने छठ पर्वको पहिलो दिन हिजो व्रतालुले बिहानै घर आँगनको सरसफाइ गरी स्नान गरेर चोखो खानेकुरा खाएका छन् ।

यसलाई छठ ब्रतालुको भाषामा नहाय खाय भन्ने गरिएको छ । छठका ब्रतालुले कोजाग्रत पूर्णिमा अर्थात् आश्विन शुक्ल पूर्णिमादेखि नै लसुन, प्याजलगायत तामसी खानेकुरा नखाई चोखो खाएर बस्ने व्रतविधि रहेको छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउआदिको बढी प्रयोग गरिन्छ ।

छठ पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीमा भोलि नीराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । कार्तिक शुक्ल सप्तमीका दिन बिहान सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि चार दिन लामो सूर्य आराधनाको पर्व छठ समापन हुन्छ । सूर्यका दुई श्रीमती छाया र संज्ञा कार्तिक शुक्ल षष्ठी र सप्तमीका दिनमा अस्ताउँदो र उदाउँदो सूर्यसँगै आउने भएकाले छठी माताका रुपमा पूजा आराधना गर्ने परम्परा बसेको धार्मिक विश्वास छ । cin