प्लाष्टिक रहित तिहार बनाउन विकू सहकारीको अपिल 

२०८० कार्तिक २५ शनिबार १७:३४:०० मा प्रकाशित

गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्थाले यसवर्षको तिहार प्लाष्टिक रहित बनाउन अपिल गरेको छ । प्राकृतिक फूलको प्रयोग गरी पर्यावरण जोगाउन सम्पूर्णमा आह्वान गरेको हो । संस्थाले एक सूचना मार्फत यस पालिको तिहारमा प्लाष्टिक जन्य वस्तुको प्रयोग नगर्न भनेको छ । 

विकू बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेम प्रसाद सापकोटा ‘राजु’ले देशमा पर्याप्त प्राकृतिक फूल उत्पादन भएको बताउँदै यसको उपभोगमा जोड दिनुभयो । दिगो विकासको लक्ष्य प्राप्तीका लागि पनि सबैको हातेमालो जरुरी रहेको उहाँले बताउनुभयो ।  

विकू बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले वातावरणमा संरक्षणमा सबै मिलि जुट्नुपर्ने बताउनुभयो । स्वदेशी प्राकृतिक मालाको उपयोगले स्वदेशमा नै आर्थिक आम्दानी पनि हुने र वातावरण पनि स्वच्छ हुने उहाँको भनाई छ । 

नवलपुरको गैँडाकोट तथा चितवनको भरतपुरमा यसपटक अत्यधिक फूल उत्पादन भएको छ । फूल उत्पादन गर्ने अधिकांश विकूका सदस्य पनि हुन् ।