मौलाकाली केवलकारद्धारा ५० प्रतिशत छुट सहित नयाँ अफर घोषणा

२०८० असोज १ सोमबार ०७:०४:०० मा प्रकाशित


मौलाकाली केवलकारले आफ्नो टिकटमा ५० प्रतिशत छुट सहित नयाँ अफर ल्याएको छ । यही आश्विन महिनाभरका लागि यो अफर ल्याएको कम्पनीले जनाएको छ । यसअघि गत साउनदेखि संचालित इभिनिङ अफरलाई परिस्कृत गर्दै बुधबार दिनभरका लागि नै टिकटमा ५० प्रतिशत छुट सहित छुट अफर ल्याएको केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताए ।

ईभिनिङ अफरप्रति आम यात्रुले दर्शाएको सद्भाव र प्रतिक्रिया स्वरूप यो अफर ल्याइएको र यस अफरबाट अझ धेरै यात्रु तथा भक्तजन लाभान्वित हुने विश्वास लिएको पौडेलले बताए ।

हाल केवलकारको दुईतर्फी साधारण टिकट मूल्य रु. ५५० कायम छ । यस अफर अन्तर्गत अब यात्रुहरुले रु. २७५ मै केवलकारको दुईतर्फी यात्रा गर्न पाउनेछन् । यसैबीच गत आइतबारदेखि शुरु भएको केवलकारको नियमित मर्मतसम्भार कार्य पनि सकिएको कम्पनीले जनाएको छ । मर्मतसम्भार सकिएपछि अब आश्विन १ गतेदेखि केवलकार पूर्ववत समय तालिका अनुसार नै संचालन हुने पौडेलले बताए जस अनुसार केवलकार हरेक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म संचालन हुनेछ भने शनिबार र बिदाका दिनमा बिहान ५ः३० बजेदेखि संचालन हुनेछ ।