नवलपुर । नवलपुर जिल्लामा उत्पादित खाद्यान्नले जिल्लाबासीलाई नै खान पुग्दैन । कृषिमा नवलपुर आत्मनिर्भर हुन सकेको छैन ।
जिल्लामा रहेका ८ वटै पालिकाले कृषिलाई प्राथमिकतामा राखेपनि जिल्लाबासीलाई खान पुग्ने अन्नबाली समेत जिल्लामा नै उत्पादन हुन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ ।
जिल्लामा उत्पादित खाद्यान्न अपुग भएपछि बाह्य क्षेत्रबाट खरिद गर्नुपर्ने अवस्था छ । जिल्लामा मुख्यगरी धान, गहुँ, मकै, कोदो, जौ र फापर उत्पादन र खेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार जिल्लामा उत्पादित खाद्यान्न बालीले जिल्ला लाई नै थेग्न सक्दैन ।
प्रति व्यक्ति प्रति वर्ष १८१ किलोग्राम खाद्यान्न आवश्यक पर्छ । केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९÷०८० मा धान, गहुँ, मकै, कोदो, जौ र फापर गरी खानयोग्य ६२ हजार ४ सय ५ मेट्रिक टन खाद्य बाली उत्पादन भएको थियो ।
कृषि खाद्यान्न बालीमा आत्मनिर्भर हुनका लागि जिल्लामा एक वर्षमा ६८ हजार ९ सय ८० मेट्रिक टन आवश्यक पर्छ । जिल्लामा बसोबास गर्ने ३ लाख ८१ हजार १ सय ५ जनसंख्यालाई यहाँको उत्पादनले नपुग्ने गरेको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शंकर पौडेलले जानकारी दिनुभयो ।
नवलपुरमा आर्थिक वर्ष २०७९÷०८० मा ८३ हजार १ सय २७ मेट्रिक टन धान उत्पादन भएको थियो । जसमा खानको लागि योग्य धान ४२ हजार ९९ दशमलव ६४ मेट्रिक टन रहेको छ । उत्पादित धान मध्ये १ हजार १ दशमलव ९ मेट्रिक टन बीउको रुपमा प्रयोग भएको छ । पशुपन्क्षी आहारमा ८ सय ५९ मेट्रिक टन धान प्रयोग हुने गरेको छ ।
त्यस्तै गहुँ २१ हजार २ सय १८ मेट्रिक टन उत्पादन भएकोमा खानको लागि योग्य १४ हजार ४ सय ४९ मेट्रिक टन मात्र रहेको छ ।
उत्पादित मध्ये २ सय ९४ मेट्रिक टन पशुपन्क्षीको आहारको रुपमा प्रयोग हुने गरेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । बीउको रुपमा ८ सय ९३ मेट्रिक टन प्रयोग हुने गरेको छ ।
मकै १३ हजार ५ सय २० मेट्रिक टन उत्पादन भएको थियो । जसमा खानका लागि योग्य मकै ५ हजार ८ सय ४७ मेट्रिक टन रहेको छ । उत्पादन मकै मध्य बीउको लागि १ सय ३७ मेट्रिक टन प्रयोग हुने गरेको छ ।
त्यस्तै पशुपन्क्षी आहारमा ३ हजार ८ सय ९८ मेट्रिक टन मकै प्रयोग हुने गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
नवलपुरमा कोदो उत्पादन निकै कम हुने गरेको छ । अघिल्लो आर्थिक वर्षमा २ सय ८५ मेट्रिक टन कोदो उत्पादन हँुदा १० प्रतिशत मात्रै भण्डारण गरिने गरेको र अझै १४ दशमलव ३८ मेट्रिक टन अपुग हुने गरेको जनाएको छ ।
फापरको उत्पादन ९५ मेट्रिक टन हँुदा खानका लागि योग्य फापर २३ मेट्रिक टन रहेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । जिल्लामा जौ खेती भने हुन छोडेको छ ।
जिल्लामा दलहन र तेलहन बाली पनि अपुग हुने गरेको छ । जिल्लामा दलहन बाली उत्पादन कम रहेको छ । आर्थिक वर्ष २०७९÷०८० मा ४ हजार ९ सय ८ हेक्टर क्षेत्रफलमा दलहन खेती गरिएको थियो । जसमा उत्पादन ५ हजार ५ सय २६ मेट्रिक टन रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
उत्पादन मध्ये खानका लागि योग्य दलहन ४ हजार ८ सय ५ दशमलव ५३ प्रतिशत रहेको छ । तथ्याङ्क अनुसार जिल्लामा ६१ दशमलव ७९ मे.टन दलहनको कमि रहेको छ ।
त्यस्तै जिल्लामा तेलहनको उत्पादन पनि २ हजार ४ सय ४६ दशमलव ५२ प्रतिशतले कम हुने गरेको छ ।