शिक्षकले पाठ्यक्रम हेरेर पढाउन अल्छि मानेपछि, गैँडाकोटमा स्थानीय पाठ्यपुस्तक बन्दै 

२०८० जेठ १२ शुक्रबार १९:३४:०० मा प्रकाशित

गैँडाकोट । विद्यालय तहबाटै विद्यार्थीलाई स्थानीयस्तरको विषयबस्तुका बारेमा जानकारी गराउने उद्देश्यले गैँडाकोट नगरपालिकाले स्थानीय पाठ्यपुस्तक कार्यान्वयनमा ल्याउने भएको छ । स्थानीय विषयवस्तुका बारेमा विद्यार्थी जानकारी दिने उद्देश्यले पालिकामा स्थानीय पाठ्यपुस्तक ल्याउन लागेको हो । स्थानीय पाठ्यपुस्तक निमार्णको कार्य अन्तिम चरणमा पुगेको पाठ्यक्रम विकास केन्द्रमा पाठ्यपुस्तक लेखनको काम गर्दै आउनु भएका लेखक सच्चितानन्द घिमिरेले जानकारी दिनुभयो । करिब ४५ दिन भित्रमा बालबालिकाको हातमा स्थानीय पाठ्यपुस्तक पुग्ने उहाँको भनाइ छ । 


स्थानीय पाठ्यक्रमको उद्देश्य बालबालिकालाई स्थानीय धर्म, भाषा, संस्कृति, रितीरिवाज, जातजातिसँगै भूगोल, सम्पदा, पर्यटन, सीप तथा रोजगारको विषयमा जानकारी गराउनु हो । पुस्तक पढेपछि बिद्यार्थीले आफनो स्थानीय तहको सबै बिषय बस्तुको बिषयमा थाहा पाउने भएकाले पनि यसको महत्व ठूलो रहेको लेखक घिमीरेले जानकारी दिनुभयो ।


पाठ्यपुस्तक बनाउने तयारीमा रहेको गैँडाकोट नगरपालिकाको शिक्षा शाखाले यस अघि नै स्थानीय पाठ्यक्रम निर्माण गरिसकेको छ । पाठ्यक्रम हरेर पाठ्यक्रमले उल्लेख गरेका सिकाइ उपलब्धी, अभ्यास गराउनुपर्ने शिक्षकहरुले अल्छि गरेपछि शिक्षा शाखाले पाठ्यपुस्तक निर्माण गर्न लागेको हो । कतिपय विद्यालयमा पाठ्यक्रम हेरेर पढाउन शिक्षकहरुले आनाकानी गर्ने प्रवृत्ति पनि गैँडाकोटमा देखिन्छ । पाठ्यक्रम हेरेर सन्दर्भ सामाग्रीहरुको खोजी गरी अध्ययन गराउनुपर्ने स्थानीय पाठ्यक्रमलाई पनि निश्चित किताब भित्रको ज्ञानमा सिमित पार्न खोजिएको छ । पाठ्यक्रम हेरेर पढाउन अल्छि मान्ने शिक्षकहरुका लागि भने पाठ्यपुस्तक बन्ने कुरा गज्जब नै हो । तर विद्यार्थीले सिमित किताबभित्रको सिमित ज्ञानको परिधिमा बस्नुपर्ने बाध्यता रहनेछ । गैँडाकोट २ का विद्यार्थीले गोपेश्वर महादेव मन्दिरका बारेमा पढ्दा सजिलै बुझ्न सक्छन् भने गँैडाकोट १३ का विद्यार्थीले कैलाश सन्यास आश्रमका विषयमा पढ्दा मठमन्दिरका बारेमा सजिलै बुझ्न सक्छन् । यो अवधारणाबाट सिकाइ गर्नुपर्ने स्थानीय पाठ््यक्रम पनि अब अरु पाठ्यपुस्तक जस्तै हुनेछ ।