रोटरी क्लब अफ कावासोतीले मोतिया बिन्दुको निःशुल्क अपरेसन शिविर सञ्चालन गर्दै

२०८२ कार्तिक १० सोमबार १९:२७:०० मा प्रकाशित

नवलपुर । रोटरी क्लब अफ कावासोतीले मितियाबिन्दुको निःशुल्क अपरेसन शिविर सञ्चालन गर्ने भएको छ । क्लबले यही कात्तिक ११ गतेदेखि तीन दिनसम्म जिल्ला स्थित मध्यविन्दु प्रादेशिक अस्पताल परिसरमा मोतिया विन्दुको उपचारका लागि अपरेसन शिविर गर्न लागेको क्लबका संस्थापक अध्यक्ष भरत पोखरेलले बताउनुभयो ।

गैँडाकोटको दुई स्थान, मध्यविन्दुको एक स्थान, कावासोतीको पाँच स्थानमा गरिने शिविरबाट मोतिया बिन्दु पहिचान भएका बिरामीको निःशुल्क अपरेसन गर्ने गरी शिविर गर्न लागिएको क्लबका संस्थापक अध्यक्ष पोखरेलले जानकारी दिनुभएको छ ।

तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा गर्न लागिएको शिविरबाट करिब ३ सय जनाले अपरेसन सेवा लिने अनुमान रहेको पोखरेलले बताउनुभयो ।

मोतिया बिन्दुका बिरामीले अपरेसन शिविरमा आएर स्वास्थ्य लाभ लिनका लागि उहाँले अनुरोध गर्नुभएको छ । शिविरमा कुनै पनि शुल्क नलाग्ने भन्दै मोतिया बिन्दुका कारण आँखाका ज्योति गुमाएकाले लाभ लिन सक्ने संस्थापक अध्यक्ष पोखरेलले बताउनुभयो ।रोटरी क्लब अफ कावासोतीले छ वर्षको अवधिमा नवलपुरका करिब २५ हजारको आँखा परीक्षण गरिएको र करिब तीन हजार मोतिया बिन्दुका बिरामीको अपरेसन गरी नयाँ दृष्टि प्रदान गरेको छ ।