
कावासोती । सुरक्षित वैदेशिक रोजगारीका लागि ११ वटा कुरा महत्त्वपूर्ण छन् । रोजागारीका शिलशिलामा विदेश जानुपूर्व नै यी विषयमा ध्यान दिन नवलपुरका अभियानकर्ताहरुले सचेत गराएका छन् । सकेसम्म स्वदेशमा नै केही गर्न र जानैपर्ने भए यी ११ कुरा नभुल्न सजग गराए ।
सोमबार कावासोतीमा भएको कार्यक्रममा जिल्लाका स्थानीय अभियानकर्ताहरुले कम्तिमा ११ वटा कुरामा ध्यान दिने हो भने विदेश जाँदा अफ्ठ्यारो नपर्ने बताए । भरपर्दो मेनपावर, भरपाई, सीप तालिम, स्वास्थ्य परीक्षण, म्यादी बीमा, अभिमुखिकरण, सम्झौता, श्रम स्वीकृती, सम्पर्क नम्बर, कागजपत्र र नेपालको विमानस्थलबाट जाने हो भने समस्या नआउनेमा उनीहरुले जोड दिएका हुन् । कार्यक्रममा अभियानकर्ताहरुले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सबैको भूमिका अहम् हुने बताए । साथै उनीहरुले आ–आफ्नो क्षेत्रमा भए गरेका, देखेका र समस्याका बारेमा अवगत गराएका थिए ।
सामी/हेल्भेटास नेपालका गण्डकी प्रदेश व्यवस्थापक उमा शर्माले सामी कार्यक्रम पालिका तहमा रहेकोले ‘तीन पि’ अर्थात पोल्टिकल, पोलिसि र प्रोग्राम गर्न सके वैदेशिक रोजगारीका क्षेत्रमा समस्या कम आउने तर्क गरिन् । राजनीतिक दलका नेतालाई सजग गराई नीति निर्माण तथा कार्यक्रम गर्नुपर्ने आवश्यकता औल्याउँदै उनले स्थानीय सरकारले अपनत्व गरी प्रभावकारी रुपमा काम गर्नुपर्ने बताइन् । यसलाई अभियानकर्ताले साकार पार्न सक्ने र सजग गराउनेकुरामा आवाज उठाउन आग्रह गरिन् ।
हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ) का कार्यकारी निर्देशक कृष्णप्रसाद घिमिरेले अभियानकर्ताहरुको भूमिकाकै कारण वैदेशिक रोजगार सुरक्षित र मर्यादित बनेको बताउँदै यसलाई निरन्तरता दिन आग्रह गरे । भौतिक विकास देखिने तर सामाजिक विकास नदेखिने तर्क गर्दै अभियानकर्ताहरुले अझै धेरै गर्न सक्ने र त्यो भूमिकाको अपेक्षा गरेको बताए ।
सुरक्षित आप्रवासन कार्यक्रमका जिल्ला संयोजक रितुराम सोती थापाले गतवर्ष नेपालबाट अहिलेसम्मकै सबैभन्दा धेरै नागरिक विदेशिएको उल्लेख गर्दै यो वर्ष अझै बढ्ने देखिएको बताए । उनले नवलपुरमा दैनिक सरदर ८० जना पासपोर्ट बनाउन अहिले पनि जिल्ला प्रशासन कार्यालय नवलपुर पुग्ने गरेका बताए ।
अहिले सरदर दैनिक २५ सय नेपाली रोजगारका लागि विदेशिने गरेका छन् । नेपालबाट श्रम स्विकृती लिएर ६४ लाख गईसकेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ । ५६ प्रतिशत घरधुरीका परिवारले विप्रेषण प्राप्त गरेका छन् । नेपालबाट १११ देशमा मात्र रोजगारका लागि जान पाईन्छ । अफगानीस्तान, लिविया र इराक जान रोक लागाइएको छ ।
गण्डकी प्रदेशबाट सबैभन्दा धेरै नवलपुरबाट विदेशिएको पाईएको छ । चालु आर्थिक वर्षको हालसम्म ९ महिनामा मात्रै नवलपुरका १३ हजार ६ सय ५७ जनाले पासपोर्ट बनाएका छन् ।
आप्रवासी स्रोत केन्द्रबाट उनीहरुलाई अभिमुखिकरण गर्ने गरिएको भएपनि कतिपयको अटेरीका कारण आफै समस्यामा परे भनेर आउने गरेको परामर्शदाता रञ्जना लम्सालले बताइन् । उनीहरुको न्यायका लागि समेत निःशुल्क सहायता उपलब्ध गराउने गरेको उनले बताइन् ।
स्थानीय अभियानकर्ताहरुमा पत्रकार, शिक्षक, सरकारी कर्मचारी, सामाजिक कार्यकर्ता, सामुदायिक मेलमिलापकर्ता, रिटर्नीहरु लगायत रहेका छन् । उनीहरुले समाजमा वैदेशिक रोजगार सम्बन्धी हुने गरेका देखेका समस्या उजागर गर्नुका साथै सहयोग गर्ने गरेका छन् । कार्यक्रमको सहजिकरण गर्दै सामाजिक परिचालन अधिकृत प्रकाश गिरीले बढ्दो सामाजिक लागत न्यूनिकरणका लागि अभियानकर्मीहरुको भूमिका महत्त्वपूर्ण हुने बताए ।