आर्थिक संकटका बीच सहकारीमा अराजक गतिविधिबाट सचेत रहन जिल्ला सहकारी संघको अपिल
ऋण र व्याज तोकिएको समयमा भुक्तानी गरी आर्थिक अनुशासन कायम राख्न सदस्यलाई अनुरोध

कावासोती । सहकारीका संचालक, कर्मचारी तथा सदस्यहरूलाई जिम्मेवार र सचेत रहन जिल्ला सहकारी संघले आग्रह गरेको छ। विश्वव्यापी आर्थिक संकटले नेपालको सहकारी क्षेत्रलाई समेत गहिरो असर पारेको सन्दर्भमा जिल्ला सहकारी संघ लि., नवलपरासी (ब.सु.पूर्व) ले सहकारीका संचालक, कर्मचारी तथा सदस्यहरूलाई जिम्मेवार र सचेत रहन आग्रह गरेको छ।
संघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा भूमण्डलीकरण र विश्वव्यापी द्वन्द्वका कारण उत्पन्न आर्थिक समस्याको फाइदा उठाउँदै केही अराजक र स्वार्थ समूहले सहकारी संस्थाहरूमाथि प्रहार गरिरहेको उल्लेख गरेको छ। यस्ता समूहहरूले ऋण नतिर्न प्रोत्साहित गर्ने, व्याज महँगो भएको भन्दै भ्रम सिर्जना गर्ने र सहकारी संस्थाहरूमाथि आर्थिक संकट निम्त्याउने उद्देश्य राखेको भन्दै संघले चिन्ता व्यक्त गरेको छ।
संघका उपाध्यक्ष खिना कुमारी भुषालद्वारा हस्ताक्षरित विज्ञप्तिमा सहकारी संस्थाबाट लिएको ऋण र व्याज तोकिएको समयमा भुक्तानी गरी आर्थिक अनुशासन कायम राख्न सदस्यहरूलाई हार्दिक अनुरोध गरिएको छ । साथै, स्वार्थ समूहको प्रभावमा परी कर्जा नतिर्ने प्रवृत्तिबाट टाढा रहन र भविष्यमा कालोसूचीमा पर्नबाट जोगिन सचेत गराइएको छ।
विसं २०३५ सालमा स्थापना भएको जिल्ला सहकारी संघ लि., नवलपरासी (ब.सु.पूर्व) ले जिल्लाभित्रका सहकारी संस्थाहरूको समन्वय र संरक्षणका लागि काम गर्दै आएको छ।