गण्डकी सहकारीद्वारा सदस्यलाई वित्तीय प्रविधि साक्षरता प्रदान

२०७९ चैत ६ सोमबार १६:१४:०० मा प्रकाशित

गैँडाकोट । गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गैँडाकोट ६ मा सोमबार वित्तीय प्रविधि साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको अविरत सेवा केन्द्रमा सदस्यहरुलाई प्रविधिबारे जानकारी गराएको हो ।

कार्यक्रममा सहकारीका सचिव कुलप्रसाद पाण्डे दिपकले गाईवस्तु सटही, धातु, सिक्का, कागज हुँदै अहिले एटिएम तथा ईलेक्ट्रोनिक माध्यमबाट वित्तीय कारोबार हुने गरेको बताउनुभएको थियो । भौतिक कारोबारमा नोट, सिक्का, चेक, धातु र अभौतिक कारोबार डेबिट, क्रेडिट, प्रिपेड कार्ड, मोबाईल, एप्लिकेशन, ईन्टरनेट बैङ्किङ, डिजिटल वालेट, क्युआर, पिओएस, क्रिप्टोकरेन्सीमार्फत वित्तीय कारोबार हुन थालेको बताउनुभएको थियो । 

सहकारीका वित्त प्रमुख विपिन श्रेष्ठले संस्थागत जानकारी गराउँदै १ अर्ब ३६ करोड बचत तथा १ अर्ब ३४ करोड लगानीमा रहेको बताउनुभयो । सहकारीमा हाल १६ हजार ७० सदस्य रहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा सहकारीका प्रविधि सहायक राहुल सुवेदीले सहकारीका प्रविधिका विषयमा जानकारी गराउँदै विद्युत, ईन्टरनेट, खानेपानीको महशुल, मोबाईल रिचार्ज, फण्ड ट्रान्सफर, क्युआर पेमेन्ट, लोड वालेट, ई–टेलर, हवाई टिकट, ऋण तिर्न मिल्ने लगायत एप्लिेकेशन प्रयोगबारे जानकारी गराउनुभएको थियो ।  

शिक्षा उप समिति सदस्य रामप्रसाद सापकोटाले सहजिकरण गर्नुभएको सो कार्यक्रम अविरत सेवा केन्द्रका संयोजक जयकृष्ण सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।