नवलपुरबाट प्रतिनिधि सभा तर्फका २२ उम्मेदवारको धरौटी जफत हुने 

२०७९ मङ्सिर ९ शुक्रबार १३:४२:०० मा प्रकाशित

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएका २२ जनाको धरौटी जफत हुने भएको छ । आफु उम्मेदवार बनेको क्षेत्रबाट सदर मतको १० प्रतिशत मत पनि ल्याउन नसकेपछि त्यस्ता उम्मेदवारको धरौटी जफत हुने भएको हो । 

नवलपुर क्षेत्र नम्बर १ मा रहेका १५ जना उम्मेदवार मध्ये १२ जनाको धरौटी जफत हुने भएको छ । त्यस्तै नवलपुर क्षेत्र नम्बर २ मा रहेका १२ जना उम्मेदवार मध्ये १० जनाको धरौटी जफत हुने भएको छ । क्षेत्र नम्बर १ बाट १२ जना र क्षेत्र नम्बर २ बाट १० गरी २२ जनाले १० प्रतिशत मत ल्याउन सकेनन् । 

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको अवस्थामा उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ, “निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ । तर निर्वाचित उम्मेदवारको हकमा यो कुरा लागू हुने छैन ।”

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै दलले कम्तीमा एक सीट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने उल्लेख छ ।

नवलपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका १५ मध्ये ११ उम्मेदवारले १ हजार मत समेत कटाउन सकेनन् । त्यसमध्ये २ जनाले १ सय मत पनि कटाउन सकेनन् भने २ उम्मेदवारले दोहोरो अंक समेत बनाउन सकेनन् । अन्य दललाई समर्थन गरेका स्वतन्त्र उम्मेदवारलाई समेत मत परेको देखिन्छ । 

त्यस्तै नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका १२ मध्ये ८ उम्मेदवारले १ हजार मत कटाउन सकेनन् भने ७ उम्मेदवारले ५ सय मत कटाउन सकेनन् । ४ उम्मेदवारले ५० मत कटाउन सकेनन् भने स्वतन्त्र २ उम्मेदवारले १० मत पनि प्राप्त गरेनन् ।

उम्मेदवारले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा उम्मेदवार हुनको लागि दश हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा उम्मेदवारको बन्दसूची पेश गर्ने दलले पचास हजार रुपैयाँ आयोग समक्ष धरौटी राखेका थिए । त्यस्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट रहेको थियो ।