“सियोले जसरी कपडा सिलाउँछ, त्यसैगरी मेलमिलापकर्ताहरुले बेमेल पक्षहरूलाई सिएर एक गर्नुहुन्छ”

२०८२ बैशाख २५ बिहीबार ०७:०१:०० मा प्रकाशित

गैँडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइराला सामाजिक न्याय, महिला सशक्तिकरण, र द्वन्द्वपीडितको अधिकार संरक्षणमा सक्रिय स्थानीय नेतृ हुनुहुन्छ । उहाँको कार्यकालमा न्यायिक सचेतना, सीपविकास, विभिन्न सामाजिक तथा अन्य सीप विकासका कार्यक्रमहरू सञ्चालनमा आएका छन् । कोइराला गैँडाकोट नगरपालिकाको न्यायिक समितिको संयोजक समेत हुनुहुन्छ । गैँडाकोट नगरपालिकालाई न्यायमा आधारित समाज निर्माणका लागि न्यायिक समितिले गरिरहेको कामका बारेमा संवाददाता माया कंडेलले उपप्रमुख शान्ति कोइरालासँग कुरा गर्नुभएको छ । उहाँसँग गरिएको कुराकानीको सम्पादीत अंश । 


न्यायिक समितिका पछिल्ला गतिविधि के के छन् ? के काम गर्दै हुनुहुन्छ ?

न्यायिक समितिले पछिल्लो समयमा वडावडाहरूमा कानुनी सचेतनाका काम गर्दै आइरहेको छ । अहिले हामीले हरेक वडाहरुमा कानुनी सचेतनालाई प्राथमिकता साथ गरेका छौँ । गैँडाकोटमा रहेका १८ वटै वडाका मेलमिलापकर्ताहरुमा पुनर्ताजगि मिलेको अनुभव गरेका छौँ । मेलमिलापकर्ताहरुको घर नजिक तालिम गर्दा प्रभावकारी नहुने विगतको अनुभवले अहिले बन्दीपुरमा लगेर पुनर्ताजगी गराएका छौँ । 


मेलमिलापकर्ताहरूमा तालिमले के फरक ल्याएको छ ? 

सबै मिलापकर्ताहरू त जान सक्नुभएन तर जो जो जानुभयो, उहाँहरुलाई दुई दिनसम्म तालिम प्रदान ग¥यौँ । तालिम पश्चात सिकाइ प्रभावकारी रहेको सहभागिहरुले बताउनुभएको छ । मेलमिलापकर्ताहरु कानुनका विषयमा जानकार हुनुभएको छ, राम्रोसँग गाउँघरमा बुझाउन सक्ने हुनुभएको छ । तालिमले उहाँहरुको सोच र बौद्धिकतामा निखार ल्याएको छ । तालिमले बालीलाई गोडमेल गरेजस्तो, घरलाई पुनः रङ्गाएजस्तो, ऐनालाई पुछेर धुलो हटाएजस्तो फरक पना मेलमिलापकर्ताहरुमा ल्याएको छ । सामाजिक कार्यमा प्रेरणा मिलेको छ, न्यायमा आधारित समाज निर्माणका लागि मार्गदर्शन मिलेको बताउनुभएको छ । 


मेलमिलापकर्ताको भूमिकालाई कसरी प्रभावकारी बनाउने ?

अन्यायमा परेको बोध भएपछि निवेदनहर पालिकामा नै आउँछ, हामीलाई प्राप्त निवेदनका आधारमा प्रक्रियागत रुपमा हामीले काम अघि बढाउँछौँ । निवेदकसँगको सल्लाहमा न्यायका लागि छलफलका लागि कतिपयले वडामै भन्नुहुन्छ, कतिपयले नगरमै भन्नहुन्छ, उहाँहरुको रोजाइ अनुसार वडाका मेलमिलापकर्ताहरुलाई हामीले जिम्मेवारी प्रदान गर्दछौँ । घर नजिकको विवाद वा अन्य कुनै घटना निरुपणका लागि मेलमिलापकर्ताहरुको भूमिका ठूलो हुन्छ । उहाँहरुले आफ्नो ठाउँ, परिवेशन, घटना, संस्कार र संस्कृति बुझ्नुभएको हुन्छ, उहाँहरुले आफै छलफल गरेर न्यायको बाटोमा लाग्नु सबैभन्दा श्रेयस्कर हुन्छ । नगरमा छलफल भएपनि राय,सल्लाह, सुझाब वडामा रहेका मेलमिलापकर्ताहरुबाट लिने भएकोले यस कार्यमा उहाँहरुको भूमिका महत्त्वपूर्ण रहेको छ । हामीले मेलमिलाप कार्यलाई नै बढी प्राथमिकतामा राख्छौँ तसर्थ पनि मेलमिलापकर्ताको भूमिका आवश्यक छ ।

सियोले जसरी कपडा सिलाउँछ, त्यसैगरी दुबै पक्षबीचको सम्बन्धलाई मेलमिलापकर्ताहरुले सिउने काम गर्नुहुन्छ । दुबैलाई जितजितको अवस्थामा मेलमिलापकर्ताहरुले लैजानुहुन्छ तसर्थपनि उहाँहरुको भूमिका प्रभावकारी छ । उहाँहरुलाई समयसमया परिवर्तित नियम र कानुनका विषयमा जानकारी दिने, अभिप्रेरित गर्ने, सामाजिक सेवामा प्रेरित गर्ने, अभिमुखीकरण गर्ने यस्तै क्रियाकलापहरुका माध्यमबाट नै मेलामिलापकर्ताको सेवामुखी कार्यलाई थप प्रभावकारी बनाउन सकिन्छ भन्ने हाम्रो बुझाइ रहेको छ । गैँडाकोटका १८ वटै वडाहरुमा मेलमिलापकर्ताहरु हुनुहुन्छ ।

पहिला सबै जना न्यायिक कार्यका लागि नगरमै आउनुहुन्थ्यो भने, न्यायिक समितिले गरेको सचेतना कार्यक्रम पश्चात उहाँहरु वडा वडामा पनि सम्पर्क र समन्वय गर्न थाल्नुभएको छ । न्यायिक सचेतना कार्यक्रम अझै सबै स्थानमा पु¥याउन सकिएको छैन, सचेतना कार्यक्रमलाई अझ धेरै स्थानमा लैजान आवश्यक छ । 


समाजमा हुने विवाद, बेमेलका पछि के के कारण देख्नुहुन्छ ? 

एकदम सही प्रश्न गर्नुभयो, विवाद र बेमेल त्यसै जन्मिदैन, यसका पछि धेरै कारण हुने रहेछ । हाम्रो समाजमा एकजनाको कमाइले परिवार चलाउन गाह्रो छ । अहिलेको समय झन् महङ्गीको समय छ । खानपान औषधि उपाचार पढाइ खर्च परिवारमा एक्लो सदस्यले चलाउन सम्भव छैन । जब परिवार एक्लो सदस्यमा निर्भर छ, त्यहाँ पनि नजानिँदो तवरले बेमेल सुरु भएको छ, झगडा सुरु भएको छ, हिंसा सुरु भएको छ । त्यस कारण परिवारमा उमेर पुगेका सबै सदस्यहरु आयआर्जनका काममा व्यस्त हुन जरुरी रहेछ । महिला दिदिबहीनीहरु आत्मनिर्भर बन्नुपर्ने रहेछ । महिला दिदिबहिनीहरुको सीप विकासमा हामी नगरको तर्फबाट सक्दो सहयोग गरिरहेका छौँ, स्वरोजगारमा अभ्यस्त हुने त उहाँहरुको पनि दायित्व हो, कर्तव्य हो ।  यसले धेरै हदसम्म समाजलाई गतिशिल बनाउन, समाज सुहाउँदो जीवनशैली अघि बढाउन सहज हुने भएकोले पनि परिवारमा बेमेल र विवाद कम ल्याउँछ । परिवारमा होस् या छिमेकमा एकअर्काको समस्या बुझ्नुपर्दछ, एकअर्काको भावना बुझ्नुपर्दछ, एकअर्काको स्वतन्त्रता बुझ्नुपर्दछ, एकअर्काको अधिकार बुझ्नुपर्दछ तब समाजमा विवाद कम हुन्छ, परिवारमा बेमेल कम हुन्छ ।