रौतहट–१ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी

२०७९ मङ्सिर ८ बिहीबार १३:१३:०० मा प्रकाशित

रौतहट । रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का माधव कुमार नेपाल विजयी हुनुभएको छ । नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले पराजित गर्नुभएको हो । 

नेपालले ३३ हजार ५२२ मत ल्याउनुभएको छ भने एमालेका गुप्ताले २६ हजार ९२२ मत पाउनुभयो । यहाँ जनमत पार्टीका राजेन्द्रप्रसाद साहले १ हजार ४११, स्वतन्त्र उम्मेदवार राहुलकुमार मिश्रले ४५४, राष्ट्रिय प्रजातन्त्र पार्टीका सरोजकुमारीले ३५३ मत पाउनुभयो । 

नेपाल ०७४ मा काठमाडौं–२ बाट निर्वाचित हुनुभएको थियो । तर एमाले विभाजित भएपछि एकीकृत समाजवादीको अध्यक्ष बनेका नेपाल यसपटक कांग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार हुनुभएको थियो ।