प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम 

२०८३ असार १५ सोमबार ०७:०८:०० मा प्रकाशित

गैँडाकोट, असार १४। परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा एन्जल फाउन्डेसन नेपाल, भरतपुर–चितवन र नेपाल रेडक्रस सोसाइटी गैँडाकोट शाखाको प्राविधिक सहयोगमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष शक्ति प्रसाद सापकोटा ले गरेका थिए भने एन्जल फाउन्डेसन नेपाल, चितवनका शाखा प्रमुख सुदिक्षा निरौला को प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा प्राथमिक उपचारका आधारभूत सीप, आकस्मिक अवस्थामा अपनाउनुपर्ने सावधानी तथा गुप्त रोगसम्बन्धी सचेतना, रोकथाम र समयमै उपचारको महत्वबारे जानकारी दिइएको थियो। कार्यक्रममा सहकारीका सञ्चालक समिति, कर्मचारी, सदस्य तथा अन्य सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले सहभागीहरूलाई व्यवहारिक ज्ञान प्रदान गरेको आयोजकले जनाएको छ।