मिर्गौलामा हुने पत्थरी रोकथाम र उपचार  

२०७९ कार्तिक २४ बिहीबार १२:५२:०० मा प्रकाशित

गैँडाकोट । शरीरमा भएको पत्थरी सानो भएमा अथवा सो पत्थरी किड्नी या युरेटरमा रहेको हकमा व्यक्तिमा कुनै पनि प्रकारको लक्षण देखिदैन । यसकारण पनि व्यक्तिले आफुमा पत्थरी भएको लामो समयसम्म थाहा पाउन सक्दैनन् । तर, उक्त पत्थरी बढ्दै गएमा वा कुनै कारणवश मुत्रमार्गमा अड्किन गएको खण्डमा भने यसले व्यक्तिमा एक्कासी अत्याधिक दुखाईको महशुस गराउँछ । मिर्गौला पत्थरी भएको व्यक्तिले आफ्नो कोखातर्फ तीव्र दुखाईको महशुस गर्छन् ।
मिर्गौला पत्थरीले व्यक्तिमा पिसाब फेर्न गाह्रो हुने, पिसाब लाग्ने तर नआउने, बारम्बार पिसाब फेर्न मन लाग्ने, पिसाब फेर्दा पोल्नेजस्ता समस्याहरु निम्त्याउँछ । नमिठो गन्धसहित पिसाब धमिलो आउनु र कहिलेकाहिँ पिसाबमा रगत समेत देखिनु पनि पत्थरी हुनुको अर्काे संकेत हो । यदि आफ्ना बालबालिकाले पिसाब फेर्दा रुने, कराउने, चिच्याउने तथा असामान्य व्यवहार देखाउँछन् भने अभिभावकले आफ्ना सन्तानमा पत्थरी भएको आशंका गर्न सकिन्छ । कोखामा दुख्ने, मिर्गौलाको पत्थरीमा पिसाब नलिको पत्थरीमा अनि पिसाब थैलोको पत्थरीमा पिसाब बन्द हुने, पिसाब बन्द भएर पाइप हाल्नुपर्ने हुन्छ । कसैलाई संक्रमण भएर ज्वोरो आउने खालको समस्या हुन्छ । मिर्गौला नै बिग्रेको बिरामीहरु सास फेर्न गाह्रो हुने शरीर सुन्निने समस्याहरु लिएर आउने गर्छन । 
यदि मिर्गौलामा असर गर्ने पत्थरी भएमा शल्यक्रिया गर्नुपर्छ । सानो–सानो पत्थरी भएमा शल्यक्रिया गर्नुपर्दैन त्यो समयमा पानी धेरै पिउनुपर्छ । एक दिनमा २ लिटर पिसाब बग्ने गरी आवश्यक मात्रामा ३ देखी ४ लिटर पानी पिउन आवश्यक छ । साथै खानेकुराहरुमा नुनजन्य पदार्थ र प्रोटिन जस्तै माछा, मासु, अण्डा, गेडागुडीहरु खान कम गर्नपर्छ । 
खानपिनमा नुन बढी हुँदा पिसाबमा पत्थरी बनाउने तत्वहरु बढी भएर पत्थरी हुने सम्भावना हुन्छ । 
पिसाबको नलिमा बसेको पत्थरी र मिर्गौलामा भएका ठुला–ठुला पत्थरीहरु जस्ले पिसाबको बाटो रोकेको हुन्छ त्यस्ता पत्थरीले मिर्गौला बिग्रने सम्भावना अधिक हुन्छ । यस्ता बिरामीहरु धेरै हुन्छन् । पिसाब नलिमा सानै पत्थरीले पनि असर गर्ने गर्छ । 
मिर्गौलामा पत्थरी भएपछि, पत्थरीको आकार हेरेर काहाँनेर छ, यसले देखाएको लक्षणहरुको आधारमा शल्यक्रिया गरिन्छ । सबै पत्थरीको शल्यक्रिया गर्नुपर्दैन । ठुलो पत्थरी र मिर्गौलालाई असर गर्ने, बाटो बन्द गरेका पत्थरीहरुको मात्र शल्यक्रिया गर्नुपर्छ । 
शल्यक्रिया गर्ने क्रममा जटिलताहरु धेरै हुने गर्छ । जस्तै पत्थरीको शल्यक्रिया गर्दा मिर्गौलामा प्वाल पारेर गर्ने प्रविधि पिसिनल भन्ने हुन्छ । यसमा रक्तस्राव हुने सम्भावना धेरै हुनाले केही बिरामीलाई रगत चढाउनुपर्ने, शल्यक्रिया स्थगित गरेर पछि गर्नुपर्ने समस्याहरु हुनेगरेको छ । त्यस्तै केही बिरामीहरुलाई शल्यक्रिया गरेपछि ज्वोरो आउने खालको समस्याहरु हुन्छ । यस्तो चाहीँ एक सय बिरामी मध्ये ४÷५ जना विरामीमा हुने गर्छ । 
पत्थरीको समयमा उपचार नभएमा बाटो बन्द गरेर बसेको पत्थरीले विस्तारै मिर्गौला फुलेर बिग्रन सक्छ । त्यस्तै काम नगर्ने मिर्गौलाले समस्या भएमा मिर्गौला फाल्नुपर्ने हुन्छ । साथै पत्थरी र प्रोस्टेटका विरामीहरु धेरै हुने गरेको पाइन्छ । 
पानी कम मात्रामा पिउने, खानामा ध्यान नदिँदा पत्थरी बनाउने तत्व शरीरमा धेरै हुनाले पत्थरीको विरामीहरु बढ्दै गएको देखिन्छ । पत्थरी महिला भन्दा पुरुषमा अधिक मात्रामा हुने गर्छ । बालबालिका र बृद्धहरुमा भन्दा बढी २० देखी ४५ बर्षका उमेर समुहका मानिसलाई पत्थरी भएको देखीन्छ । 
कुनै पनि व्यक्तिलाई पत्थरीको आशंका भएमा डराउनुपर्दैन । केही लक्षणहरु देखीएमा चिकित्सकको सल्लाह लिनु पर्छ । साथै खानपिनमा विशेष ध्यान दिपर्छ, पानी बढी पिउनुपर्छ । 
त्यस्तै कुनै पनि विरामीले स्वास्थ्य जाँच गराएपछि, पुनः जाँच गराउनुपर्छ । 
(मौलाकालिका अस्पतालका युरोलोजिष्ट, डा.सम्पन्न चुडालसँग संवाददाता रिना चौधरीले गर्नुभएको कुराकानीमा आधारित)