स्थानीय जातको गाई संरक्षण अभियानमा योगी नरहरिनाथ गौ संरक्षण केन्द्र

२०७९ कार्तिक २२ मंगलबार ११:१७:०० मा प्रकाशित

भरतपुर । स्थानीय जातको गाई लोप हुँदै गएपछि चितवन देवघाटमा रहेको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रले संरक्षण अभियान थालेको छ । 

चितवन देवघाटमा रहेको योगी नरहरिनाथ गौ संरक्षण केन्द्र्रमा यतिबेला २ सय ३० वटा स्थानीय जातका गाई छन् । ती गाइका लागि ७ जना गौ सेवक रहेका छन् । जसले दिनरात चाडपर्व पनि नभनि ति गाईको संरक्षणका लागि काम गरिरहेका छन् । त्यसै मध्येका एक हुन् दाङका नन्दराम ओली । उनी बिहान ४ बजेदेखि राती अबेरसम्म तीनै गाईको सेवा र स्याहार सुसारमा मन लगाउँछन् । “बिहान ४ बजे उठ्छु, ३० वटा गाई दुहुन्छु, पानी दाना चोकर दिएर, भकारो सोहोर्छु अनि १० बजे जङ्गलमा चराउन लैजान्छु । यो काले हो यो तिखे मैले बोलाएपछि आउँछन् । मैले गौ सेवालाई नै धर्म मान्छु ।”

यहाँ वि.सं. २०५० सालमा माडीबाट ६ वटा स्थानीय जातका गाई ल्याएर योगी नरहरिनाथले गाईको संरक्षण गर्नुपर्छ भन्दै अगाडी बढेका थिए । सोही अभियान आज यहाँ सम्म आइपुगेको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका संयोजक रामप्रसाद वस्तिको भनाई छ । उनले स्थानीय जातका गाइको संरक्षणका लागि काम गरिरहेको बताए । गाई पालनका लागि मासिक करिब चार लाख खर्च हुने गरेको उनको भनाइ छ । गाईको मल मुत्रको बिक्रीबाट बार्षिक करिब १५ लाख आम्दानी हुँदै आइरहेको जनाए । अन्य खर्च भने सहयोगीको सहयोगका कारण जुटिरहेको उनले बताए । उनी भन्छन्, “योगी नरहरिनाथले गाईको संरक्षण गर्नुपर्छ भन्दै यहाँ गौ संरक्षण केन्द्र खोल्नुभयो । यहाँ आम्दानी भन्दा खर्च धेरै छ । दाताहरुको सहयोगले चलिरहेको छ । संरक्षणमा सबैले ध्यान दिए पछिल्लो पुस्ताले पनि स्थानीय जातका गाइ देख्न पाउँछन ।”

नेपालमा छ प्रकारका स्थानीय जातका गाई पाइन्छन् । तीमध्ये धेरै गाई अहिले संकटमा छन् ।  आयातित गाईको तुलनामा कम दूध उत्पादन हुने भएकाले स्थानीय गाईपालन गर्ने चलन कम हुँदै गएको छ । नेपालमा जर्सी, होल्स्टिन, ब्राउन स्वीस, साहिवाल, रेड सिन्धी, हरियाणालगायत प्रजातिका आयातित गाई पाल्ने गरिएको छ । तर स्थानीय जातका गाइको विशेष महत्त्व रहेकाले संरक्षण गर्नुपर्ने उनी बताउँछन् । योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका संरक्षक शान्तप्रसाद पोखरेल भन्छन्, “गाईको धार्मिक महत्त्व छ । यसको संरक्षण गर्नुपर्छ । व्यावसायिक रुपमा गाईपालन बढ्दै जाँदा स्थानीय जातको गाइको पालन र संरक्षण घटेको हो ।”

गैँडाकोट २ का रामचन्द्र आचार्य समय–समयमा गौ संरक्षण केन्द्रमा जान्छन् । स्थानीय जातका गाईको विशेष महत्त्व र औषधीय गुण भएकाले संरक्षणमा सबै जुट्नुपर्ने उनको भनाई छ । “गाईको मल, मुत्र, दूध सबै औषधीय गुणले भरिपूर्ण छ । अझ जङ्गलमा चरेर औषधीय गुणयुक्त वनस्पती खाएका हुन्छन । निकै महत्त्वपूर्ण छ न स्थानीय जातका गाई ।” उनले गुनासो गरे । 

दूध दहीदेखि मलमुत्र समेत काम लाग्ने र कमाईको राम्रो स्रोत बन्ने भएकाले गाईपालन धेरै किसानको जीविकोपार्जनको माध्यम बनेको छ । अझ स्थानीय जातका गाई त वर्षौदेखि समाज र सभ्यतासँग जोडिँदै आएका छन् । 

पछिल्लो समय उन्नत जातका गाई पालन बढ्दै गएको छ । थोरै दूध दिने र गाईपालनको खर्चसमेत नउठ्ने भन्दै कृषकले स्थानीय जातको गाईपालन गर्न छाडेका छन् । गाई अभावमा गाउँमा विभिन्न हिन्दू संस्कारमा गाईको प्रतिमा बनाई नगद दक्षिणा राखेर उम्काउने गरिएको छ । यसले हिन्दू धर्म संस्कारमा असर त पर्छ नै, हिन्दू धर्मावलम्बी नयाँपुस्ताले स्थानीय जातको गाईको पहिचान नै नपाउने भएकाले संरक्षण गर्न आवश्यक हुने सरोकारवालाहरु बताउँछन् ।