एकपटक पुग्नैपर्ने गन्तव्य श्री हनुमान मन्दिर

२०७९ असोज २५ मंगलबार १२:५८:०० मा प्रकाशित

नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैंडाकोट ९, थुम्सी, सूर्यनगर स्थित श्री हनुमान मन्दिर समिति चक्रघाट गैँडाकोट नगरीको धार्मिक पर्यटनका रुपमा विकसित हुँदै गएको छ । वि.सं. २०४२ सालदेखी पूजा अर्चना हुँदै आएको यस स्थानमा शिखरशैलीको कलात्मक श्री हनुमान मन्दिर निर्माण भएपश्चात मुहार नै फेरिएको छ । प्रकृतिको सुन्दर वातावरणले सजिएको यस ठाउँमा रामभक्त पवनपुत्र श्री हनुमानजीको देवालयका रुपमा विख्यात श्री हनुमान मन्दिरले करिब ४ दशक लामो इतिहास व्यतित गरेको छ । 

सङ्कटमोचन श्रीहनुमानजीको दिव्यमूर्ति, कलाकारिताले परिपूर्ण मन्दिरको बाहिरी पाटो, शिखरखजुराव शैलीको गुम्बज, काष्ठकलाका कलात्मक झ्यालढोका, रामदरबार, स–साना गुम्बज आकारका मार्वल रेलिङ, मार्वलकै आँखीझ्याल, सिँढी तथा आकर्षक विद्युत व्यवस्थापन र रङ्गरोगन यस मन्दिरका दर्शनीय पक्षहरु हुन् । ४२ फुट लम्बाइ, ४२ फुट चौडाइ र ६३ फुट उचाइ भएको नेपालकै पहिलो, भव्य र कलात्मक श्री हनुमान मन्दिरले जो कोहिलाई आकर्षित गर्छ । 

गैँडाकोटको सवालमा भन्ने हो भने शिव, राम, कृष्ण र देवीका मूर्तिहरू स्थापना गरी आकर्षक मन्दिर निर्माण गरी नित्य पूजा, आराधना गर्दै आइएको भएपनि सनातन वैदिक धर्मका अनुयायीहरुले मान्दै आएको श्रीहनुमानको मन्दिर यही एउटा मात्र हो । यस कारण पनि यस मन्दिरको महिमा र गरिमा उच्चकोटिको रहेको छ । देशकै मध्ये भागमा अवस्थित, पूर्व पश्चिम राजमार्ग क्षेत्रमा पर्ने सबै दृष्टिकोणले सर्वोपयुक्त शान्त, एकान्त र रमणीय भएकै कारण भव्य हुनमान मन्दिर रहेकोले यो पर्यटकीय गन्तव्यका रुपमा रहेको छ । 

मन्दिर व्यवस्थापन पक्षका अनुसार वि.सं. २०४२ सालमा स्थापना भएको यस मन्दिरको वि.सं. २०४४ असोज २६ गते विधान दर्ता भएको थियो । जिल्ला प्रशासन कार्यालयमा ४५८ नम्बरमा दर्ता भएको मन्दिर धार्मिक वन क्षेत्रमा पर्दछ । २०६५ जेठ १ गते धार्मिक वनको विधान दर्ता गरी २०६५ जेठ १७ गते धार्मिक वन हस्तान्तरण भएको थियो । १८.०५ हेक्टर (करिब २७ विगाह) क्षेत्रफल यसले ओगटेको छ । पूर्व चिसापानी खोलाको सिमाना, उत्तरामा पूर्वपश्चिम लोकमार्गको दक्षिण सीमानासम्म, पश्चिम मुकुन्दसेन सामुदायिक वनको पूर्वी सीमाना खरखरे खोलासम्म र दक्षिणमा आवादी जग्गा छोडी नारायणी नदी किनारसम्म यसले ओगटेको छ । यहाँ साल, साज, चाँप, हर्रो, बरो, क्यामुना, सिसौ, अमला, गुर्जो, भलाए लगायत अन्य वनस्पति पाईन्छन् ।

मन्दिर संरक्षणमा अग्रणी, वरिष्ठ सल्लाहकार श्री हनुमानभक्त पवनकुमार अग्रवाल लगायत उदारमन भएका महानुभावहरुको सहयोगका कारण मन्दिरको स्वरुप फेरिएको छ । श्री हनुमान मन्दिर समिति चक्रघाटको शुभसङ्कल्प, विभिन्न निकाय र जनसहभागितामा करिब ३ करोडको लागतमा शिखरखजुराव शैलीको मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माणका लागि चन्दाबाट १ करोड ६४ लाख, पटक–पटक गरी गैँडाकोट नगरपालिकाबाट ३१ लाख, वडाबाट २ लाख, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट १५ लाख, प्रदेश सांसद कोषबाट ५ लाख, संघीय सांसद कोषबाट १० लाख, मारवाडी नारायणगढबाट २१ लाख, नारायणी सामुदायिक वनबाट ७ लाख लगायत विभिन्न दाताले सहयोग गरेका छन् ।

मन्दिर परिसरभित्र महिला र पुरुषका लागि अलगअलग व्यवस्था भएको शौचालय तथा स्नानघर निर्माण, शवमार्गको निर्माण गर्दै क्रमिक स्तरोन्नति चक्रघाटमा स्नानघाट निर्माण, चक्रघाट प्रवेशद्वार आजीवन सदस्यहरूको ३ पुस्ते अभिलेखीकरण गर्ने जस्ता कार्यहरू सम्पन्न भइसकेका छन् । मन्दिरको गजुर (गुम्बा), कलात्मक आँखी झ्याल, मार्बल, टायल्स, झ्याल टोका, रङ्गरोगन विद्युतिय लाइट व्यवस्थाले थप चमक ल्याएको छ । धर्म संस्कृतिको जर्गेना गर्दै समाजमा आध्यात्मिकताको विकास गर्ने अभिप्रायले २०७७ श्रावण १० गते नागपञ्चमीका दिनदेखि यस मन्दिरमा एक अविच्छिन्न धार्मिक अनुष्ठानका रूपमा प्रत्येक शनिबार साँझ “बजरङ्गी सन्ध्या आरती” अर्को सौन्दर्यको पाटो बनेको छ । 

मन्दिर परिसरमा १०० जना सम्म अट्ने धर्मशाला निर्माण कार्य चलिरहेको छ । २०७८ चैत्र २७ गते रामनवमीदेखी २०७९ वैशाख ३ गते श्री हनुमान जयन्तीका दिनसम्म साङ्ग विराट् ज्ञानमहायज्ञ महामहोत्सव २०७८ सँगै शिखरखजुराव शैलीको भव्य एवं कलात्मक श्री हनुमान मन्दिरको समुद्घाटन/लोकार्पण एवं मूर्तिप्राणप्रतिष्ठा गरेपछि धार्मिक, आध्यात्मिक र पर्यटकीय क्षेत्रका रुपमा परिचित छ ।