डा. शंशाकको नवलपुरबाट नै उठ्ने ईच्छा 

२०७९ असोज १० सोमबार १८:१४:०० मा प्रकाशित

गैँडाकोट । 
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले मंसिर ४ मा हुने निर्वाचनका लागि आफ्नो उम्मेद्वारी आवश्यक देखेको बताउनुभयो । नेपाली काँग्रेस गैँडाकोट वडा नम्बर ५ वडा कार्यसमितिले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उहाँले नवलपुरमा आफुले धेरै काम गरेको दावी गर्नुभयो ।  
चौँथो पटक नवलपुर आएर नवलपुरमा विपि अन्तर्राष्ट्रिय खेल मैदान निर्माण, ट्रमा सेन्टरलाई पूर्णता दिने र बैकल्पिक मार्ग बनाउने बताउनुभयो । साथै उहाँले नवलपुर पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकाले नारायणी नदीमा जलविहार, होमस्टे र अन्य पर्यटकीय क्षेत्रको विकास गर्न सकिने बताउनुभयो । कोइरालाले नवलपुरलाई लिएर देखेका ठुला सपना पुरा गर्न चौँथो पटक आउन लागेको बताउनुभएको छ । 
नेपाली काँग्रेस नवलपुर जिल्ला सभापति महेन्द्रध्वज जिसीले राजनीति गरेपछि जनतामा जान खोज्नु सामान्य कुरा भएको बताउनुभयो । अहिले दशैँ महान चाडसँगै राजनीतिक बृत्तमा टिकटको चटारो रहेको उहाँको भनाई छ । जसले टिकट पाए पनि सबै एकजुट भएर नवलपुरलाई रुखमय बनाउनपर्ने उहाँको भनाई थियो ।  
नेपाली काँग्रेस महासमिति सदस्य एवम् गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले ४ जना मान्छेले तालि बजाएर चुनाव नजितिने हुँदा जनतासँग नजिक हुन डा. कोइरालालाई सुझाव दिनुभयो । चुनाव जित्न जनतासँग नजिक भएर गाउँ गाउँ र वडा वडामा पुग्नुपर्ने उहाँको भनाई छ । राजनीति गर्दा आत्तिनुहुँदैन भन्ने उदाहरण आफु भएको उहाँले बताउनुभयो । उहाँले राजनीति गरेको लामो समयपछि मात्र स्थान पाएको भनाई व्यक्त गर्नुभयो । 
नेपाली काँग्रेस महासमिति सदस्य विष्णुकुमारी कँडेलले ५२ प्रतिशत महिला मतदाता भएको ठाउँमा टिकटमा पनि महिलालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । साथै उहाँले गठबन्धनको खेलले पार्टीलाई नराम्रो हुने बताउँदै अब जिल्लालाई बलियो बनाएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । 
नेपाली काँग्रेस महासमिति सदस्य गोकुल सापकोटाले काँग्रेस एक्लै प्रतिस्पर्धामा गएर पार्टीको शक्ति देखाउनुपर्ने बताउनुभयो । उहाँले नवलपुर काँग्रेसमा पनि बालेन शाह र हर्क जस्ता व्यक्ति भएकाले उनीहरुलाई चिन्न आग्रह गर्नुभयो । युवा शक्तिलाई प्राथमिकता दिन उहाँको आग्रह छ । 
कार्यक्रममा नेपाली काँग्रेस गैँडाकोट वडा ५ को कार्यसमिति उप सभापति विष्णु गौतमले सबै एकजुट भएर काँग्रेसलाई जिताउन लाग्नुपर्ने बताउनुभयो । उहाँले काँग्रेसले जित्नु भनेकै हामी सबैको जित भएकाले चुनावका लागि तयारी गर्नुपर्ने बताउनुभयो ।
सो कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य द्रोण वन सन्यासी, काँग्रेस जिल्ला सह सचिव राजेश पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस गैँडाकोट वडा ५ का कार्यसमिति सचिव किरण केसीले गर्नुभएको थियो ।