मौलाकालिका मन्दिरमा स्थायी प्रहरी पोष्ट बनाउँछु – महानिरीक्षक

२०७९ असोज १० सोमबार १५:३१:०० मा प्रकाशित

गैँडाकोट । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले गैँडाकोट १ स्थित मौलाकालिका मन्दिर परिसरमा रहेको अस्थायी प्रहरी पोष्टलाई स्थायी गराउने बताउनुभएको छ । धार्मिक पर्यटकीय स्थलको पहिचान बनाएको मौलाकालिका मन्दिरमा दर्शनार्थीको चाप बढ्दै गएपछि सुरक्षार्थ स्थायी पोष्ट निर्माण गर्ने बताउनुभयो ।

सोमबार मौलाकालिका मन्दिर परिसरमा नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले धार्मीक क्रियाकलापले मानव जीवनमा ठुलो सिकाईको भूमिका खेल्ने बताउनुभयो । 

कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले चाडपर्वको समयमा शान्ति सुरक्षामा विशेष ध्यान दिएको बताउँदै सबैलाई सतर्कता अपनाउन समेत आग्रह गर्नुभयो । बजार अनुगमन लगायत हरेक कामहरुलाई आफुले निरन्तरता दिदै आएको उहाँले बताउनुभयो । 

धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका प्रमुख सल्लाहकार एवं पूर्व प्रहरी नायब महानिरीक्षक ज्ञानेन्द्रविक्रम महतले २८ वर्षदेखी निरन्तर मन्दिरको विकासका लागि काम गर्दै आएको बताउँदै सुन्दर स्थानको परिकल्पना गरेको बताउनुभयो । 

धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले मन्दिरले चाडपर्वको समयमा विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । उहाँले देशमा प्रहरीहरुको महत्त्वपूर्ण योगदान रहेको बताउँदै शान्ति सुरक्षाको अझ राम्रो प्रबन्ध गरिदिन आग्रह गर्नुभएको थियो । 

कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्य, प्रहरी शिक्षालयका निर्देशक, प्रहरी नायब महानिरीक्षक सन्दीप भण्डारी, नवलपुर प्रहरी उपरिक्षक भुवनेश्वर तिवारी, चितवनका प्रहरी उपरिक्षक नवराज अधिकारी, गैँडाकोट १ का वडा अध्यक्ष सुरेन्द्र रेग्मी लगायत जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका उपाध्यक्ष खगराग कंडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजिकरण सचिव श्यामसुन्दर पराजुलीले गर्नुभएको थियो ।