नारायणगढ–बुटवल सडक विस्तारको ठेक्का तोड्ने 

२०७९ असोज ९ आइतबार १८:०६:०० मा प्रकाशित


सरकारले नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा चरम ढिलाइ भएपछि ठेकदार कम्पनीसँगको ठेक्का तोड्ने चेतावनी दिएको छ । काम सकिनुपर्ने अवधिमा १८ प्रतिशत मात्रै काम भएको र कामको गति ज्यादै सुस्त भएको भन्दै सडक विभागले आइतबार एक सार्वजनिक सूचनामार्फत यस्तो चेतावनी दिएको छ । या सूचनासँगै ठेक्का तोड्न प्रक्रिया अघि बढेको आयोजना अधिकारीहरुले बताएका छन् ।

विभागले ५ कात्तिकभित्र कार्यशैली नसुधारेमा ठेक्का रद्ध गर्ने चेतावनी दिएको छ । यो सडक खण्डको विस्तारका लागि बनाइएको दुबै प्याकेजको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले हात पारेको छ ।११३ किलोमिटर लामो सडकखण्ड विस्तार गरी चार लेनको बनाउने काम ज्यादै सुस्त गतिमा भइरहेको छ । विभागले ठेकदार कम्पनीले अयोजना र परामर्शदाताले दिएका निर्देशन पालना नगरेको आरोप लगाएको छ । सडक विभिन्न खण्डहरु यात्रा गर्नै नमिल्ने गरी क्षतिग्रस्त हुँदा समेत मर्मत नगरिएको विभागको भनाइ छ ।

ठेकदारको लापरवाहीले सवारी र सर्वसाधारणले यात्रा गर्दा असहजता, प्रदूषण र स्वास्थ्य समबन्धी समस्या भोग्नुपर्ने अवस्था आएको विभागले बताएको छ । यसका कारण दुर्घटना बढ्ने अवस्था आएको, वातावरणलाई दुष्प्रभाव परेको, स्थानीय समुदाय, सडक प्रयोगकर्ता र स्थानीय तहहरुले सास्ती भोग्नु परेको विभागको ठहर छ ।विभागले एक वर्षदेखि ठेकदार कम्पनीको कामको नजिकबाट सुरपरीवेक्षण गरिएको भन्दै सारभूत रुपमा आयोजनामा काम नै नभएको बताएको छ । तोकिएको लक्ष्यअनुसार ठेकदारले काम नगरेको भन्दै दुबै प्याकेजका आयोजनाहरुले ठेकदारबाट काम गर्ने तयारी समेत भएको नेदेखिएको ठहर गरेका छन् ।

दुबै आयोजनाहरुले ठेकदार निरन्तर रुपमा कामको गति बढाउन असफल रहेको भन्दै समयमै काम सकिने विश्वास गर्ने खालको वातावरण नरहेको उल्लेख गरेका छन् । खरिद सम्झौताअनुसार चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २२ साउन २०७९सम्म आयोजनाको सबै काम सक्नुपर्ने थियो ।सडक विभागका महानिर्देशक अर्जुनजंग थापा काममा ढिलाइ गरिरहेको कम्पनी र कम्पनीका प्रतिनिधि समेत विभागको सम्पर्कमा नरहेको बताउनुभयो । उहाँका अनुसार समस्या सल्टाउनुपर्नेमा कम्पनी स्थानीय रुपमा भुक्तानी गर्नुपर्ने रकम समेत नतिरी सम्पर्कबाहिर गएकाले आयोजना समस्याग्रस्त बनेको हो । आफूहरुले जति पहल र प्रयास गर्दा पनि प्रगति नभएपछि थप कदम चाल्नुपर्ने अवस्था आएको महानिर्देशक थापाको भनाइ छ ।