प्रेस युनियनका केन्द्रीय सभापति सहित पाँच जना सम्मानित

२०७९ श्रावण २२ आइतबार १८:०२:०० मा प्रकाशित


नवलपुर । नेपाल प्रेस युनियन नवलपुरले केन्द्रीय सभापति शिव लम्साल सहित पाँच जनालाई सम्मान गरेको छ । प्रेस युनियनको हेटौँडामा भएको अधिवेशनबाट निर्वाचित सभापति शिव लम्साल, उपसभापति नकुल अर्याल, केन्द्रीय सदस्य घनश्याम बगाले, कृष्णकुमारी ढकाल, पत्रकारिता विधामा विद्यावारिधी उपाधि प्राप्त गर्ने डा. भूमिराज चापागाईंलाई सम्मान गरिएको छ । सम्मानित व्यक्तित्वहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नवलपुर क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. शशांक कोइरालालले सम्मान गर्नुभएको हो ।  डा. कोइरालाले पत्रकारिता स्वतन्त्र रहने हुँदा युनियनका साथीहरु स्वतन्त्र र निर्धक्क भएर पत्रकारिता गर्न आग्रह गर्नुभयो । 

नेपाल प्रेस युनियनका केन्द्रीय सभापति शिव लम्सालले श्रमजीवी पत्रकारहरुको समस्या समाधानका लागि आफू सदैव अग्रपंक्तीमा रहने बताउनुभयो । नेपालभरिका १७ हजार पत्रकारहरुले श्रम अनुसारको पारिश्रमिक पाउनुपर्दछ भन्ने पक्षमा आफू उभिएको लम्सालले बताउनुभयो ।  नेपाल प्रेस युनियनका केन्द्रीय उपसभापति नकुल अर्यालले पत्रकारहरुको क्षमत अभिवृद्धि र पेशागत सुरक्षाका लागि युनियन सदैव तत्पर रहने बताउनुभयो ।  सम्मानित डा. भूमिराज चापागाईंले समुदायमा मिडिया र पत्रकार प्रतिको विश्वास बढी रहने हुँदा सञ्चारमाध्यम र सञ्चारकर्मीहरुले संवेदनशील भएर विषय उठान गर्न आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा प्रदेश सांसद ओमकला गौतम, नेपाली काँग्रेस नवलपुरका कार्यवाहक सभापति चन्द्रबहादुर राना, उपसभापति बालकृष्ण घिमिरे, सचिव होमराज रानाभाट, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सभापति नारायण शर्मा, नेपाल पत्रकार महासंघ नवलपुरका उपाध्यक्ष नवीन पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रेस युनियन नवलपुरका उपसभापति श्रीधर उपाध्यायले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम युनियनका सभापति बीरेन्द्र पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण युनियनका सचिव खगराज सापकोटाले गर्नुभएको थियो ।