डा. शशांकले भने “देवघाटदेखि त्रिवेणीसम्म बैकल्पीक राजमार्ग बनाउने सपना छ ।”

२०७९ श्रावण २२ आइतबार १७:५१:०० मा प्रकाशित


नवलपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नवलपुर क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. शशांक कोइरालाले आफ्ना अधुरा सपना पूरा गर्न चौँथो पटक नवलपुरबाट निर्वाचनमा उठ्ने बताउनुभयो । नेपाल प्रेस युनियन नवलपुरको कावासोतीमा भएको कार्यक्रममा बोल्दै डा. शशांकले भन्नुभयो “देवघाटदेखि त्रिवेणीसम्म नारायणी किनारै किनार वैकल्पीक राजमार्ग बनाउने मेरो सपना छ ।” यो सपना पुरा गर्नका लागि नेपाल सरकारसंगै वैदेशीक लगानी समेत आवश्यक रहेको हुँदा त्यसमा आफू प्रतिवद्ध रहेको बताउनुभयो । नवलपुरमा ट्रमा सेण्टर निर्माण गर्ने सपना अनुरुप बजेट तथा कार्यक्रममा समेटेको बताउँदै अब यसलाई पूर्ण गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसका साथै विपि रंगशाला खेल मैदानका लागि भारतमा सरोकारवालाहरुसंग पनि कुरा भइरहेको डा. कोइरालाले बताउनुभयो । 
 

प्रेस युनियनका केन्द्रीय सभापति सहित पाँच जना सम्मानित


नवलपुर । नेपाल प्रेस युनियन नवलपुरले केन्द्रीय सभापति शिव लम्साल सहित पाँच जनालाई सम्मान गरेको छ । प्रेस युनियनको हेटौँडामा भएको अधिवेशनबाट निर्वाचित सभापति शिव लम्साल, उपसभापति नकुल अर्याल, केन्द्रीय सदस्य घनश्याम बगाले, कृष्णकुमारी ढकाल, पत्रकारिता विधामा विद्यावारिधी उपाधि प्राप्त गर्ने डा. भूमिराज चापागाईंलाई सम्मान गरिएको छ । सम्मानित व्यक्तित्वहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नवलपुर क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. शशांक कोइरालालले सम्मान गर्नुभएको हो । 

 


विजय एफएमका अध्यक्ष चापागाईं सम्मानित


गैँडाकोट । नेपाल प्रेस युनियन नवलपुरद्वारा सामुदायिक रेडियो विजय एफएम १०१.६ का अध्यक्ष डा.भूमिराज चापागाईं सम्मानित हुनुभएको छ । आइतबार युनियनको सम्मान कार्यक्रममा अध्यक्ष चापागाईंले पत्रकारिता विधामा विद्यावारिधी उपाधी प्राप्त गर्नुभएकोमा सम्मान गरिएको हो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नवलपुरका प्रतिनिधिसभा सदस्य डा. शशांक कोइरालाले चापागाईंलाई सम्मान गर्नुभएको हो । चापागाईंले नेपाली संस्कृतिको प्रवर्धनमा एफएम रेडियोको भूमिका विषयमा अनुसन्धान गर्नुभएको थियो । सम्मानित डा. चापागाईंले समुदायमा मिडिया र पत्रकार प्रतिको विश्वास बढी रहने हुँदा सञ्चारमाध्यम र सञ्चारकर्मीहरुले संवेदनशील भएर विषय उठान गर्न आवश्यक रहेको बताउनुभयो । 


श्रमजीवी पत्रकारको समस्या समाधान हुन्छ – सभापति लम्साल 


नेपाल प्रेस युनियनका केन्द्रीय सभापति शिव लम्सालले श्रमजीवी पत्रकारहरुको समस्या समाधानका लागि आफू सदैव अग्रपंक्तीमा रहने बताउनुभयो । नेपालभरिका १७ हजार पत्रकारहरुले श्रम अनुसारको पारिश्रमिक पाउनुपर्दछ भन्ने पक्षमा आफू उभिएको लम्सालले बताउनुभयो । प्रेस युनियन प्रजातान्त्रिक विचार प्रवाह गर्ने संस्था भएकाले प्रेस युनियनमा आवद्ध पत्रकारहरुलाई स्वतन्त्र रुपमा काम गर्न पाउने वातावरण बनाउन आफू सदैव तयार रहेको बताउनुभयो । नेपाल प्रेस युनियनका केन्द्रीय उपसभापति नकुल अर्यालले पत्रकारहरुको क्षमत अभिवृद्धि र पेशागत सुरक्षाका लागि युनियन सदैव तत्पर रहने बताउनुभयो । 


कार्यक्रममा प्रदेश सांसद ओमकला गौतम, नेपाली काँग्रेस नवलपुरका कार्यवाहक सभापति चन्द्रबहादुर राना, उपसभापति बालकृष्ण घिमिरे, सचिव होमराज रानाभाट, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सभापति नारायण शर्मा, नेपाल पत्रकार महासंघ नवलपुरका उपाध्यक्ष नवीन पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रेस युनियन नवलपुरका उपसभापति श्रीधर उपाध्यायले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम युनियनका सभापति बीरेन्द्र पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण युनियनका सचिव खगराज सापकोटाले गर्नुभएको थियो ।