निर्वाचनको अभ्यास र नतिजा एकसाथ

२०७९ असार १४ मंगलबार १५:५२:०० मा प्रकाशित

गैँडाकोट । स्थानीय तहको निर्वाचनको झझल्को दिनेगरी गैँडाकोट १ स्थित गैँडाकोट ईङ्गिलिस स्कुलमा निर्वाचन कार्यक्रम सुरु भएको छ । विद्यार्थीलाई निर्वाचन शिक्षा प्रदान गर्ने तथा विद्यार्थी प्रतिनिधि चयनका लागि मंगलबार पत्रकार सम्मेलन गरी निर्वाचन कार्यक्रम सुरु भएको हो । 
निर्वाचन कार्यक्रमबाट छात्र प्रमुख (हेड ब्वाई), छात्रा प्रमुख (हेड गर्ल), बालक्लबको अध्यक्ष, रेडक्रसको अध्यक्ष लगायत चयन गर्ने शिक्षक जिवन दवाडीले जानकारी दिनुभयो । देशकोे संसदिय निवार्चनमा हुने हरेक कुराकोे ज्ञान प्राप्त हुने साथै यसको पहिलेबाटै अभ्यास गराउदा पछि सहज हुने उद्देश्यले निर्वाचन कार्यक्रम गरिएको स्कुलकी एकाडेमिक सुपरभाइजर बिना कोइरालाले जानकारी दिनुभयो ।   
विद्यालयको कक्षा १० का विद्यार्थीहरुको नेतृत्वमा निर्वाचन गरिएको छ । विद्यालयमा कक्षा १० का विद्यार्थीहरुले निर्वाचन अधिकृत, पर्यवेक्षक, पत्रकार, प्रहरी, स्वंयम्सेवक, प्रतिनिधि लगायत आ–आफ्नो भूमिका निर्वाह गरेका छन् ।
निर्वाचन तालिका अन्तर्गत घोषणापत्र सार्वजनिक, मतदाता नामावली, मनोनयन दर्ता, दावी विरोध, अन्तिम नामावली प्रकाशन, चुनाव चिन्ह प्रदान, प्रचार प्रसार, मौनअवधि, मतदान, मतगणना लगायतका कार्यक्रम तय गरिएका छन् । 
मंगलबार भएको पत्रकार सम्मेलनमा पत्रकारको भूमिकामा रहेका सिरिसा सिग्देल, सेविका लामिछाने, सुशान्त सुनार, त्रिसना रिजाल, निश्चल सापकोटा लगायतले निर्वाचन अधिकृतलाई प्रश्न गर्नुभएको थियो । सोही अनुरुप मुख्य निर्वाचन अधिकृतका भूमिकामा रहेका निर्मन पाठकले सबैको प्रश्नको उत्तरहरु दिदै निर्वाचनमा के कसरी काम गर्ने भन्ने बारे जानकारी गराउनुभएको थियो ।