‘आमा घर’ सहित गैँडाकोटका सुत्केरीलाई ५ हजार भत्ता

२०७९ असार ९ बिहीबार १३:३३:०० मा प्रकाशित

प्रेम क्षेत्री,

गैँडाकोट । गैंडाकोटमा रहेका सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई ५ हजार सुत्केरी भत्ता दिईने भएको छ । साउनदेखी लागु गर्नेगरी भत्ताको व्यवस्था गरिने गैँडाकोट नगरपालिकाका नगर उप प्रमुख शान्ती कोईरालाले नीति तथा कार्यक्रममा समावेश गरिएको बताउनुभयो ।

      

 

“सबैलाई स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली, हरेकका  घरमा खानेपानीका धारा, जनस्वास्थ्यमा लगानी” भन्ने नीति लिईएको छ ।

 

 

प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयनका लागी कार्यविधि तयार गरी भत्ता उपलब्ध गराईने गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै नगरपालिकाले ‘आमा घर’ कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ । विशेषगरी गैँडाकोट ३ र १८ का गर्भवती महिलाहरुको सुविधाको लागि एकहप्ता पहिलेदेखी नै बस्ने व्यवस्था गरिने र सुत्केरी भएपछि पनि बस्न पाउने तथा पोषिलो खाना उपलब्ध गराउने पौडेलले बताउनुभयो ।

प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयनका लागी कार्यविधि तयार गरी भत्ता उपलब्ध गराईने छ ।

 

 

उप प्रमुख शान्ती कोईरालाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुत्केरी आमा पोषिलो खाना कार्यक्रमलाई प्रभावकारी बनाउनुका साथै गर्भवती तथा सुत्केरीहरुको स्वास्थ्य सेवामा पहँुच पुर्याउन प्रत्येक स्वास्थ्य संस्थाबाट गर्भवती र उत्तर प्रशुती सेवा प्रदान गर्नुका साथै वडा नं. ३ र १८ का गर्भवती महिलाहरुको सुविधाको लागि नगर अस्पतालमा आमा घर संचालन गरी सेवा दिइने उल्लेख गरिएको छ ।

“सबैलाई स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली, हरेकका घरमा खानेपानीका धारा, जनस्वास्थ्यमा लगानी” भन्ने नीति लिईएको छ ।

उप प्रमुख कोईरालाले नेपाल सरकारको सबै जनतालाई निःशुल्क खोप लगाउने कार्यक्रम रहेकोले सबै प्रकारका खोप कार्यक्रमलाई नगरले प्राथमिकताका साथ अगाडी बढाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिने बताउनुभयो ।

कोभिड १९ लगायतका महामारी तथा अन्य संक्रामक रोग न्यूनीकरण कार्यक्रमलाई उच्च प्राथमिकता दिई यसको रोकथाम, नियन्त्रण, पूर्व तयारी र प्रतिकार्यको व्यवस्था गर्दै नगरपालिकाभित्र जीवन बचाउने औषधी, औषधिजन्य सामग्री तथा सुरक्षा सामग्रीको सहज आपूर्ति वा भण्डारणको व्यवस्था गरी जनतालाई सुरक्षित राखिने उल्लेख गर्नुभयो ।

नगर अस्पतालाई प्रादेशिक अस्पतालको रुपमा स्तरउन्नती गर्न प्रदेश सरकारसँग आवश्यक समन्वय गरी गैंडाकोट स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा स्तरोन्नति गर्नतर्फ पहल गर्ने र १६ नं. वडा मा रहेको अमरापुरी स्वास्थ्य चौकी लाई स्तरोन्नति तर्फ पहल गरिने उहाँको भनाई छ ।

स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि गैंडाकोट स्वास्थ्य चौकी बाट बिमा सिफारिस कार्यक्रम अगाडी बढाउन पहल गरिने नगर उप प्रमुख कोईरालाले बताउनुभयो ।

नगर अस्पतालबाट प्रदान भईरहेको बाहिरंग सेवा निशुल्क गरी नगर अस्पतालमा टेलि मेडिसिन सेवा स्थापना गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

उहाँले भन्नुभयो, “गर्भ परिक्षणमा लाग्ने शुल्क निःशुल्क गर्दै पायक पर्ने स्थानहरूमा वर्थिङ सेन्टर सञ्चालन गरिनेछ भने नेपाल सरकारबाट तोकिएका औषधी निःशुल्क वितरण गर्ने व्यवस्थालाई व्यवहारमा लागू गरिने छ ।”

यस्ता छन् थप कार्यक्रम

  • गरीब विपन्न बर्गमा परेका जनताको लागि निःशुल्क उपचार गर्न स्वास्थ्य कोषको स्थापना गरिने छ ।
  • ७० वर्षभन्दा माथिका नागरिक, असक्त, अपाङ्गहरूको लागि घर दैलो स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था गरिने छ ।
  • आधारभूत सेवा प्रदान गर्नका लागि आवश्यक ९८ प्रकारका औषधीहरु सबै स्वास्थ्य संस्थाहरु मार्फत निःशुल्क उपलब्ध गरईनेछ । आर्थिक रुपमा विपन्न विरामीहरुका लागि उपचारमा आवश्यकता अनुसारका थप सुविधा उपलब्ध गरईनेछ ।
  • नगरपालिका भित्र विभिन्न रोगहरुको निदान र उपचारका लागि स्वास्थ्य शिविरहरु संचालन गरिनेछ । स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रहरुलाई स्रोत साधन सम्पन्न बनाउदै सेवा विस्तार गर्दै लगिनेछ ।
  • सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको दक्षता अभिवृद्धि तथा उत्प्रेरणामूलक कार्यक्रम सञ्चालन गरिने छ । साथै सेवा सुविधामा वृद्धि गरिनेछ । स्वास्थ्य सेवा र संरचनालाई लैङ्गिक मैत्री, ज्येष्ठ नागरिक मैत्री र अपाङ्ग मैत्री बनाइने छ ।
  • नगरका भौगोलिक विकटता रहेको स्थानहरुमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने नीति लिइनेछ । साथै एकीकृत एम्बुलेन्स सेवा प्रवाहका लागि एम्बुलेन्स संजाल बनाइनेछ ।
  • निजी स्वास्थ्य संस्थाहरुको प्रभावकारी अनुगमन र नियमन गरिनेछ । अवैध रुपमा संञ्चालित स्वास्थ्य संस्था र क्लिनिकहरु बन्द गराईनेछ स्वास्थ्य शिक्षा कार्यक्रम विद्यालय र समुदायसँग सहकार्य गरी प्रभावकारी ढंगले कार्यान्वयन गर्दै लगिनेछ ।
  • नसर्ने रोगको बढ्दो चापलाई न्यून गर्नका लागि ४ वर्ष माथिका हरेक नागरिकलाई उच्च रक्तचाप, मुटु रोग, मधुमेह, मृगौला रोग, श्वास प्रश्वास सम्बन्धी रोग, महिलाको पाठेघरको मुखको क्यान्सरलाई नियमित चेकजाँच वर्षको एक पटक निःशुल्क व्यवस्था गरिने छ ।
  • स्त्रीरोग, छालारोग, मधुमेह, रक्तचाप, अपांगता जस्ता समस्याबाट पिडीत व्यक्तिहरुको सुविधाका लागि निःशुल्क औषधि र विशेषज्ञ सहितको घुम्ती स्वास्थ्य शिविर कार्यक्रम संचालन गरिने छ ।
  • आयुर्वेद अस्पताललाई स्तरोन्नति गरिनेछ र प्राकृतिक चिकित्सालय सञ्चालन गरिने छ । आयुर्वेद र परम्परागत पद्धतिबाट उपचार गर्न “नागरिक आरोग्य कार्यक्रम” सञ्चालन गरिने छ ।
  • आधारभूत स्वास्थ्य सेवा, आयुर्वेद र वैकल्पिक चिकित्सा, मानसिक स्वास्थ्य लगायत निरोधात्मक, प्रवर्द्धनात्मक, उपचारात्मक र पुर्नस्थापनात्मक सेवालाई एकीकृत रूपमा सञ्चालन गरिने छ ।
  • सबै विद्यालयहरुमा “विद्यालय नर्स” कार्यक्रम व्यवस्थित गरिने छ ।
  • नागरिकहरुको स्वास्थ्य परिक्षण शिविर र सहायता सामाग्री वितरण कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  • नगरस्तरमा ६ वर्ष मुनिका बालबालिकाको वृद्धि सुनिश्चितता अनुगमन गरिनेछ । पोषण शिक्षाका लागि सूचना, शिक्षा र सञ्चार संयन्त्र निर्माण गरिनेछ ।
  • बाल स्वास्थ्य र मातृशिशु स्वास्थ्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सबै वडामा “सुनौलो हजार दिन” कार्यक्रम सञ्चालन गरिने छ ।
  • आर्थिक विपन्न सुनौलो हजार दिनका महिलाहरु (गर्भवती तथा सुत्केरी), किशोरी र वालवालिकाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कुपोषण न्यूनीकरणका साथै सामाजिक रूपान्तरणका लागि बहुक्षेत्रीय पोषण कार्यक्रमलाई नगरको साझेदारीमा थप प्रभावकारी बनाईनेछ ।
  • वडामा ज्येष्ठ नागरिक तथ्याङ्क संकलन र नियमित अद्यावधिक गर्ने र समय समयमा स्वास्थ्य शिविरहरू सञ्चालन गरी सेवा प्रदान गरिने छ ।