डा. शशांकलाई युवा नेता गणेश सापकोटाको सुझाब : स्थानीय नेतालाई उठ्न दिनुहोस्

२०७९ जेठ ३१ मंगलबार ०८:१८:०० मा प्रकाशित


नवलपुर । सामाजिक अभियन्ता तथा नेपाली काँग्रेसका युवा नेता गणेश सापकोटाले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नवलपुर क्षेत्र नं. १ बाट उम्मेद्वारी दिने तयारी थाल्नुभएको छ । नेपाली काँग्रेसका महासमिति सदस्य समेत रहनुभएका सापकोटाले आगामी संघीय निर्वाचनमा नवलपुरबाट उम्मेद्वारी दिने तयारी सुरु गरिसकेको बताउनुभयो ।

सामुदायिक रेडियो विजय एफएमको लेट्सटक कार्यक्रममा बोल्दै नेता सापकोटाले स्थानीय नेता तथा जनचाहनाको मर्म बुझेर आफूले उम्मेद्वारी दिने थालनी गरेकोे बताउनुभयो । 


युवा नेता सापकोटाले पार्टी भित्र तथा बाहिर विभिन्न सिर्जनात्मक कामहरु गर्दै काँग्रेसमाझ फरक पहिचान बनाउँदै आउनुभएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व महामन्त्री डा. शंशाक कोइरालाको निर्वाचन क्षेत्र भएका कारण पनि यसपटक यस क्षेत्रलाई विशेष चासोका साथ हेरिएको छ ।

डा. शंशाक कोइरालाले जिल्ला भित्र भएका कार्यक्रममा आगामी निर्वाचनमा कहिले आउँछु भनेको सुनिन्छ भने कहिले द्विविधा राखेको देखिन्छ । यसर्थ पनि जिल्लामा चासोका साथ हेरिएको हो । यस अघिका कुनै पनि निर्वाचनमा डा. शंशाकको निर्वाचन क्षेत्रमा कुनै पनि स्थानीय नेताले सार्वजनिक रुपमा उम्मेद्वारी दिन्छु भनेर भन्न सकेनन । अहिले पनि जिल्लामा पार्टी भित्रका आम युवा काँग्रेस कार्यकर्तामा डा. शंशाक कोइराला दोहोरिनु हुँदैन भन्ने विचार रहेको तर अभिव्यक्त मात्र गर्न नसकेको काँग्रेस युवा नेता गणेश सापकोटाको भनाइ छ ।