विद्यार्थीलाई पुस्तकको भार, शिक्षा शाखाको आँखा खुलोस् 

२०७९ जेठ २४ मंगलबार ०६:०९:०० मा प्रकाशित


कक्षा १ मा पढ्ने विद्यार्थीलाई ४ वटा पुस्तक सरकारले निशुल्क दिन्छ । नेपाली, अंग्रेजी, गणित र मेरो सेरोफेरो । यस बाहेक कक्षा १ मा अध्ययनरत विद्यार्थीले स्थानीय पाठ्यक्रम सहित पाँच विषय अध्ययन गर्दछ । यसका लागि निश्चित पाठ्यघण्टा तोकिएको छ । गँैडाकोटका केही सामुदायिक विद्यालयहरुमा कक्षा १ का विद्यार्थीले ८ वटा पुस्तक पढ्नुपर्ने बाध्यता छ । बालमैत्री नगर निर्माणको अभियानमा रहेको गैँडाकोट नगरपालिकामा विद्यालयका प्रशासकहरुले नै विद्यार्थीलाई मनोवैज्ञानिक भार बोकाई यसको खिल्ली उडाइरहेका छन् । गैँडाकोटका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीले सरकारले तोकेको पुस्तकभन्दा बढी पुस्तक किन्नुपर्ने बाध्यता बनाएका छन् । 


पाठ्यक्रम विकास केन्द्रका अनुसार सरकारले तोकेका चार पुस्तकको मूल्य ५ सय १८ रुपैँया पर्दछ । अभिभावकलाई सहज होस् र सबै बालबालिका शिक्षाको पहुँचमा आउन भनेर सरकारले पुस्तक निशुल्क गरेको छ । तर गँैडाकोट स्रोत केन्द्र अन्तर्गतका विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रले तोकेको भन्दा अतिरिक्त तीन वटा पुस्तक किन्न अभिभावकलाई बाध्य बनाएका छन् । सरकारले अभिभावकलाई सहज होस् भनि ५ सय १८ रुपँैयाको चार वटा पुस्तक निशुल्क दिन्छ तर विद्यालयले ११ सय ०९ रुपैँया पर्ने तीन वटा अतिरिक्त पुस्तक किन्ने भार बोकाउँछ । सरकारले निदृष्ट गरेको पाठ्यपुस्तकको सूचिमा अंग्रेजी, गणित त छँदै छ । तर निजि पब्लीकेशनको पनि अंग्रेजी र गणित विषय थप गरेको छ । हाम्रो सेरोफेरोको विषयमा नै विज्ञानका आधारभूत पक्ष सिकाउन सकिने भएपनि विद्यालयले अतिरिक्त पुस्तक थप गरेको देखिन्छ । प्रत्येक पुस्तक पसलमा सामुदायिक विद्यालयले दिएका पुस्तकको सूचि हेर्दा पनि सहजै देख्न सकिन्छ । 


अंग्रेजीको ज्ञान बढाउन निजि पब्लीकेशनका पुस्तक पढाउनै पर्दछ भन्ने सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बुझाइको पछाडि  के अर्थ लुकेको छ ?  सरकारले निशुल्क दिने पुस्तक पढेर सिक्न र सिकाउन योग्य नेदेख्ने प्रधानाध्यापकहरुको बुझाईको पछाडि के अर्थ लुकेको छ ? नेपाली नेपालीमा नै पढाउनुपर्दछ । अंग्रेजी अंग्रेजीमा नै पढाउनुपर्दछ । मेरो सेरोफेरो नेपालीमा नै पढाउनुपर्दछ । बाँकी रहेको गणित विषय मात्र न हो । विद्यार्थीहरुलाई अंग्रेजीमा पढाउने होइन, अंग्रेजी पढाउने हो भन्ने बुझ्न नखोज्ने प्रधानाध्यापकहरुको अटेरीपनको पछाडी के अर्थ लुकेको छ ? कक्षागत सिकाइ उपलब्धीलाई आधार मान्दै शिक्षकहरुले अतिरिक्त पुस्तक थप नगरि पनि सिकाउन सक्ने कुरामा ध्यान दिन जरुरी छ । शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरले विद्यालयहरुले गर्नै नहुने त्रुटी गरिरहेको स्वीकार गर्दछ तर यसको अनुगमन गर्ने जिम्मेवारी स्थानीय पालिकाको रहेको बताउँछ । यता स्थानीय पालिकाको शिक्षा शाखा यो विषयमा अघिल्लो वर्षपनि मौन बसेको थियो । यस वर्ष पनि मौन देखिन्छ । यस विषयमा बुझ्न खोज्दा पनि शिक्षा शाखाले कुनै जानकारी नभएको बताउँछ । नीति विपरित छ पनि भन्ने, अनि भइरहेको बेथितिलाई टुलुटुलु हर्ने शिक्षा शाखाको नियतलाई कसले सुधार्ने हो । समस्या मात्र देखाएर पन्छिन खोज्ने शिक्षा शाखाको औचित्य के का लागि हो ?शिक्षा शाखालाई बेथिति बारे जानकारी दिँदा पनि यो प्रश्न शिक्षा शाखालाई होइन विद्यालयहरुलाई गर्नुहोस् भनेर जवाफ दिने शिक्षा शाखाको बेलैमा आँखा खुलोस् । 

 

 

तस्वीर सामाजिक सञ्जालबाट साभार