गैंडाकोटमा स्थानीय मिडियाद्वारा खेद प्रकट, पत्रकारहरु धर्नामा

२०७९ बैशाख ३१ शनिबार ०७:१५:०० मा प्रकाशित

गैंडाको । नवलपुरकाे गैंडाकोटमा मतदानकाे कार्य शान्तिपूर्ण रहेपनि मतगणना निष्पक्ष  हुनेमा शंका बढेकाे छ । निर्वाचन अधिकृत दीपशिखा मुनाकमीले मतगणना स्थलमा पत्रकारलाई प्रवेशकाे वातावरण नबनाएपछि आशंका उब्जिएको हाे ।


सर्वाेच्च अदालतमा इजलास अधिकृतकाे काम गरिरहनुभएकी उहांलाई गैंडाकोटकाे निर्वाचन अधिकृतकाे जिम्मा दिएर खटाइएकाे छ। तर मतगणना स्थलमा पत्रकारलाई प्रवेश नदिएर जनतालाई सुसुचित गराउने कार्यमा बाधा सृजना गर्नुका साथै प्रेस स्वतन्त्रताकाे विपरीत गतिविधि भएपछि पत्रकारहरूले विज्ञप्ति नै जारी गरेर धर्नामा बसेका छन् ।  पत्रकारलाई प्रवेश नदिएपछि गैंडाकोटमा सक्रिय पत्रकारहरुले विज्ञप्ति नै जारी गरेर विराेध जनाउदै तत्काल मतगणना स्थलमा पत्रकारलाई प्रवेशकाे वातावरणमा बनाउन माग गरेका छन् ।


“आज विहानबाट सुरु भएको मतगणना को निर्वाचन अपडेट बाट सुसूचित हुन पाउने आम नागरिकको अधिकार हो । आमनागरिकलाई सुसुचित गराउनु पत्रकार तथा सञ्चार माध्यमको दायित्व हो । आज विहानबाट सुरु भएको मत गणना स्थलमा मतगणनाको अवस्था बारे समाचार संकलन गर्न सञ्चारकर्मीलाई रोक लगाइएको प्रति गैंडाकोटका सबै एक कचार माध्यमहरूले खेद प्रकट गर्दछौं । निर्वाचन गतिविधि (मतगणना) को समाचार संकलनका लागि सहज वातावरण बनाउन गैडाकोट का निर्वाचन अधिकृत दिपशीखा मुनाकमी लाई पटक पटक आग्रह गरेपनि बेवास्ता गर्नु दुःखद पक्ष भएको महशुस गरेका छौं। समाचार संकलनको वातावरण सहज बनाउन सम्बन्धित सबैमा आग्रह गर्दछौं ।” विज्ञप्तिमा  भनिएकाे छ।


उज्यालो खबरका प्रधान सम्पादक गोविन्द घिमिरे,रेडियो संकेतका स्टेशन म्यानेजर सुजन अधिकारी, विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्याय, मुकुन्दसेन टीभीका प्रवन्ध निर्देशक आशिफ गुरुङले हस्ताक्षर गरेर जारी गरिएकाे विज्ञप्तिमा तत्काल समाचार संकलनमा सहज वातावरण गराउन भनिएकाे हाे ।